बझाङ पहिरो अपडेट : एकै परिवारका चार जनाको मृत्यु

by समतल अनलाइन

बझाङ । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० को टुमेडाका एकै परिवारका चार जना बेपत्ता थिए ।

पहिरोमा परेर मृत्यु भएका चारै जनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीषक (डीएसपी) फणीन्द्र भण्डारीसहितको टोली समेत राहत सामाग्रीसहित बुंगलतर्फ हिंडेको छ ।

राति करीब साढे १ बजेको समयमा एक्कासी वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like