माओवादी केन्द्र कुनै हालतमा फुट्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने बताएका छन् ।

आज (बुधबार) नेकपा माओवादी केन्द्र हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताहरूलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गरे । उनले अब फुटेर गएका नेताहरू पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे ।

उनले माओवादीबाट विगतमा छुट्टिएकाहरू एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको पनि बताएका छन् । उनले फुटेका नेताहरू एकजुट गरी पुनः एक पटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए । उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरूलाई कार्यक्रममार्फत अन्त्य गर्ने दावी समेत गरे । उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताए ।

उनले भने, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो की ? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन् । छिटै तपाईहरूले समाचार सुन्नु हुनेछ । हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरू पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नु भएको छ ।’

उनले भने, ‘मलाई विश्वास छ, ती साथीहरू छिटै पार्टी एकतामा आउँछन् । यो पार्टी फुट्ने होइन, फुटेका साथीहरू पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एक पटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईहरूले सुन्नु भएको छ, यस्तो भयो, त्यस्तो भयो, आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ । सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरिन्छ ।’

अध्यक्ष दाहालले नयाँ कार्य योजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए । उनले आफूले एक ढङ्गको विद्रोहको झण्डा उठाइसकेको दाबी गरे । उनले समाजवादको निम्ति प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको झण्डा उठाएको बताए ।

 
 
  
 

You may also like