३८ करोड भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

काठमाडौँ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा छुटेका छन् । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । उनी बिहान विशेष अदालत बयान दिन उपस्थित भएका थिए । अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारले मुद्दा दर्ता गरेको थियो । अख्तियारले उनीसहितका प्रतिवादीहरूलाई एकमुष्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको थियो । अर्याल एक वर्षअघि मुख्यसचिव भएका थिए । कार्यकाल छँदै तत्कालीन मुख्य सचिव शंकरदास वैरागीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले डा. अर्याललाई मुख्यसचिव बनाएको थियो ।

अर्याल २०७८ साल साउन २५ गतेदेखि २०७९ चैत १४ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए । सञ्चारबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका उनी अवकाशको तीन दिनअघि २०८० जेठ ३२ गते मुख्य सचिव बनेका थिए । महँगोमा अन्तःशुल्क स्टिकर छपाइ गरेको आरोपमा मुख्यसचिव डा.अर्यालसहित अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेश शाक्य,भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यसैगरी आन्तरिक राजश्व विभाग लाजिम्पाटमा कार्यरत उपसचिव गणेशविक्रम शाही,राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ,आन्तरिक राजश्व विभाग लाजिम्पाटका शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेल,सुरक्षण मुद्रण केन्द्र काठमाडौंका तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम,तत्कालीन शाखा अधिकृत हरिबल्लब घिमिरेलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । सुरक्षण केन्द्रका खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ ,स्टिकर छपाइको जिम्मा पाएको प्रिन्टसेल प्रालिका सञ्चालक केशव शर्मा र प्रिन्टसेल प्रालिलाई पनि प्रतिवादी बनाइएको थियो ।

 
 
  
 

You may also like