आगामी निर्वाचनमा कुनै दलसंग गठबन्धन नगर्ने -काङ्ग्रेस

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलन सकिएको छ।यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन भएको थियो।

सम्मेलनमा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू र सात सय जनाभन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए।

मंसिर १६ मा उद्घाटन सत्र र भोलिपल्ट बन्द सत्र चलेको थियो। बन्द सत्रमा प्रतिनिधिहरूबीच विभिन्न विषयमा छलफल भएको थियो।

कांग्रेस विधानअनुसार वर्षमा एक पटक प्रदेश कार्यसमितिले सम्मेलन गर्नुपर्छ। सम्मेलनमा प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी दिनका लागि सङ्कल्प गर्ने गरिन्छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ । सरकार भद्रगोल देखिएको भन्दै संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन चुस्त मन्त्रिमण्डल र विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रदेश समितिले निष्कर्ष निकालेको हो ।

लुम्बिनी प्रदेशको प्रथम सम्मेलनपछि सोमबार बिहान बुटवलमा पत्रकार सम्मेलन ​गर्दै कांग्रेस लुम्बिनीका सभापति अम्मरसिंह पुनले विज्ञताका आधारमा सरकारमा जाने व्यक्ति चयन हुनुपर्ने बताए । अहिले भएका सरकारको आकार पनि घटाउनुपर्ने उनको भनाइ छ ।

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा सम्मेलनले पारित गरेको छ । ‘निर्वाचनमा हामी आफैं लड्ने हो तालमेल गर्ने छैनौं,’ सभापति पुनले भने, ‘कांग्रेस आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ यो एजेण्डा आसन्न कांग्रेस महासमिति बैठकमा पनि लैजाँदै छौं ।’

 
 
  
 

You may also like