आलमको आतंक : जेल पठाउने आदेश दिए लगतै न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

by समतल अनलाइन

रौतहट । आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ ।

पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन् । आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिंडेका छन् ।

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् ।

‘उहाँहरू अहिले बिदामा काठमाडौं जानुभएको छ,’ अदालतका एक अधिकारीले भने, ‘आदेश दिएपछि यहाँ बस्ने परिवेश छैन ।’ आफ्नै चुनाव प्रचारमा जुटेका र आलमका लागि बनिरहेको बम विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले सरुवा मागेको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए ।

मुद्दा नचलाउन न्यायाधिवक्ता कटवालमाथि र आलमलाई साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि दबाब परेको थियो । आलमको पक्षमा आदेश नआए जेसुकै हुन सक्ने सन्देश पनि उनीहरूले पठाएका थिए ।

आलमले भारतबाट भाडाका अपराधी समेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन् । स्रोतका अनुसार उनीहरूको सरुवाबारे छलफल अघि बढिसकेको छ ।

आलमलाई जिल्लामा राख्न समेत जोखिम भएकाले नख्खु कारागार चलान गरिएको छ । उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिंडाइएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो । सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोरा अदालतको आदेशमा उल्लेख छ ।

यहीबीचमा रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीमा गत मंगलबार दिउँसो बम प्रहार पनि भएको थियो । ड्युटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी सुतली बम प्रहार गरेको आरोपमा भारतीय नागरिक २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

बिआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले बम प्रहार गरी भागेका थिए । प्रहरीले पिछा गरेर मोटरसाइकलचालक कुमारलाई पक्राउ गरे पनि पछाडि बसेर बम फाल्ने व्यक्ति पक्राउ परेका छैनन् । राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमकै योजनामा प्रहरी चौकीमा बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आलमको भविष्यमाथि उत्सुक भिड रौतहट जिल्ला अदालतमा
जघन्य अपराध गरेर पनि १२ वर्षसम्म कहिले सांसद र कहिले मन्त्रीका रूपमा निस्फिक्री घुम्दै आएका आलमले पक्राउ हुने वेला प्रहरीलाई नै धम्क्याएका थिए । उनले सुरुमा पक्राउ पुर्जी समेत लिन मानेका थिएनन् । तर, प्रहरीले जनकपुरबाट समेत थप फौज मगाएर आलमलाई पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि आलमले अदालतलाई प्रभावित गर्न खोजेका थिए । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पूर्व महासचिव रमण श्रेष्ठलगायत ३३ अधिवक्ताको वकालतनामा लेखाएर उनले जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा राख्न खोजेका थिए । १२ दिनअघि सुरु भएको बहसमा २८ जना वकिलले आलमको पक्षमा र १४ जनाले पीडितको पक्षमा बहस गरेका थिए ।

घटनाका पीडित र साक्षीलाई त्रास र आसमा पारेर बयान फेर्न लगाउने रणनीतिका साथ बहस लम्ब्याउन पनि उनले धेरै वकिल राखेका थिए । यहीबीचमा घटनाका साक्षी गौरीशंकर रामलाई बन्धक बनाएर बयान फेर्न लगाएको तथ्य पनि खुलेको थियो । बम विस्फोट हुँदा गौरीशंकर पनि घाइते भएका थिए, तर उनी भागेर ज्यान जोगाउन सफल भएका थिए ।

प्रहरीले उनलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो । तर, आलमका मान्छेले अपहरण गरेर ज्यान लिने धम्की दिएपछि बम विस्फोट भएको होइन, स्टोभ पड्किएर घाइते भएको बयान दिने भन्दै उनी सोमबार अदालत पुगेका थिए ।

तर, अदालत पुग्नासाथ प्रहरीको साथ पाएपछि उनले १२ वर्षअघि घटना भएको, आपूm पनि घाइते भएको साँचो भएको दोहोर्‍याएका थिए । विस्फोटले घाइते भएको उनको छातीमा अहिले पनि डरलाग्दो खत छ । उनका दुवै कान उडेका छन् । हाल उनी प्रहरी संरक्षणमा छन् ।

त्यस्तै, भट्टामा जलाइएका ओसी अख्तरकी श्रीमती अमना खातुनले समेत आफ्ना श्रीमान वैदेशिक रोजगारमा गएको र उतै हराएको भन्दै अदालतमा बयान फेर्न खोजेकी थिइन् । जब कि प्रशासनले ओसीको मृत्युदर्ताको प्रमाणपत्र जारी गरिसकेको छ । त्यसैले, अमनाको निवेदन अदालतले स्वीकार गरेन ।

पाँच लाख रुपैयाँ नगद र पाँच कट्ठा जग्गा दिने प्रलोभनमा पारेर आलमका सहयोगीले अमनालाई प्रभावित बनाउने प्रयास गरेका थिए । बयान नफेरे सासूको जस्तै हालत हुने धम्की पनि उनीहरूले दिएका थिए । अमनाकी सासू अर्थात् ओसीकी आमा न्यायको लागि लड्दै सर्वोच्च अदालतसम्म आएकी थिइन् । तर, उनलाई गाउँमै दिउँसै गोली हानेर मारिएको थियो ।

ओसीसँगै मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का पिता श्रीनारायणसिंह राजपुत र घटनाका अर्का साक्षी सफी अहम्मदलाई प्रहरीले सुरक्षा दिँदै आएको छ । आलमका सहयोगीहरूले पहिलेदेखि नै धम्क्याउँदै आएकाले उनीहरूलाई सुरक्षा प्रदान गरिएको हो । अन्य केही साक्षी समेत प्रहरी सुरक्षामा छन् । स्रोतका अनुसार दुई साक्षीलाई रौतहटबाहिर लगेर प्रहरीले सुरक्षा दिएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like