अझै रोकिएन नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, यातायात अवरुद्ध

चितवन । हिजो (बिहीबार) दिउसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । ईच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो । अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।

बिहीबार (हिजो) दिउँसो साढे १ बजे निरन्तर सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध छ । यहाँ हिजो बिहान साढे ९ बजे सुख्खा पहिरो खसेको थियो । सो पहिरो साढे १० बजे हटाएपछि दुईतर्फी नै सवारी साधन गुड्न थालेका थिए । फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन् ।

दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन् । अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ । प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

 
 
  
 

You may also like