क्रिकेट विश्वकप लिग–२ : नेपाल आज पिएनजीसँग खेल्दै

by समतल अनलाइन

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ श्रृंखला आज (सोमबार) देखि युएईमा शुरु हुँदैछ । त्रिकोणात्मक एक दिवसीय प्रतियोगितामा नेपाल आयोजक युएई र पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ ।

श्रृंखलाअन्तर्गत सोमबार पहिलो खेलमा नेपालले पिएनजीको सामना गर्दैछ । विश्वकप लिग–२ मा नेपालले विदेशी भूमिमा खेल्ने यो नै अन्तिम श्रृंखला हो । यसपछि नेपालले घरेलु मैदानमै अन्तिम श्रृंखला खेल्ने छ ।

विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा युएई र नेपालले दाबेदारी दिने प्रयास गर्नेछन् । नेपाल र युएईएले समान २८ खेल खेलिसकेका छन् । युएई २९ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले समान खेलबाट २६ अंक जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालको पहिलो लक्ष्य शीर्ष पाँच स्थानमा रहँदै एकदिवसीय मान्यता रक्षा गर्नु हो । त्यसपछि नेपालले शीर्ष तीन स्थानमाथि दाबेदारी प्रस्तुत गर्नेछ ।

शीर्ष तीनभित्र रहे नेपाल सीधै आइसिसी एक दिवसीय विश्वकप छनोटमा हुनेछ । युएईले नेपालको भन्दा तीन अंक बढी बटुलेको छ । श्रृंखलामा सहभागी तेस्रो राष्ट्र पिएनजी पाँच अंकका साथ पुछारमा छ । नेपालले गत साता काठमाडौंको कीर्तिपुरमा भएको श्रृंखला क्लिन स्विप गरेको थियो ।

jagdamba.cement
त्रिकोणात्मक एकदिवसीय सिरिजमाथि क्लिन स्विप गरेको नेपाली टोली उच्च मनोबलका साथ युएईको भ्रमणमा छ । त्रिवि मैदानमा नेपालले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । कुशल भुर्तेल, कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, कुशल मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ब्याटिङ इनिङ्स सम्हाल्दा नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध विशाल लक्ष्य सहजै पछ्याएको थियो ।

धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप लामिछानेले सिरिजमा उत्कृष्ट पुनरागमन गरेका थिए । उनले चार खेलमा सर्वाधिक १३ विकेट लिँदै विपक्षीमाथि दबाब राखे । यसैगरी, करण केसी तथा सोमपाल कामी खर्चिलो देखिए पनि स्कटल्यान्ड र नामिबियाका ब्याट्सम्यानलाई चल्न दिएनन् । नेपालका कप्तान पौडेलले युएईमा उत्कृष्ट लय कायम राख्ने बताएका छन् ।
जिसी र ढकाललाई मौका
नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले जिसी र ढकाललाई पहिलोपटक अवसर दिन सक्छन् । सन्दीपको नेतृत्वमा नेपाली टोलीको बलिङसमेत उत्कृष्ट देखिएको थियो । अब सन्दीप नहुँदा अन्य सिमर र स्पिनरले जिम्मेवारी लिनुपर्ने पौडेलले बताएका छन् । प्रशिक्षक देसाई खेलाडीको मनोबल उच्च रहेका कारण युएईमा सकारात्मक नतिजा आउनेमा विश्वास गर्छन् ।

 
 
  
 

You may also like