नेपालविरुद्ध केन्याको ऐतिहासिक जित

by समतल अनलाइन

काठमाडौं । केन्याविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो ।

केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार व्यहोरेको हो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०र२० रन जोडे । केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए ।करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ ।

 
 
  
 

You may also like