खाल्डाखुल्डीले अस्तव्यस्त बनेको बुटवलको मुख्य सडक मर्मत थालियो

बुटवल । बुटवल उपमहानगरपालिकाले चासो देखाएपछि बुटवलको मुख्य सडक मर्मत गर्न थालिएको छ ।
संघीय सरकार अन्तरगतको आयोजना भएपनि सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले काम अघि नबढाएपछि बुटवल उपमहानगरपालिकाले काम अघि बढाउन निर्देशन दिएकोे थियो ।
बुटवल उपमहानगरपालिकाको निर्देशनपछि ठेकेदार कम्पनीले राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाईन, ट्राफिक चोक लगायतका स्थानमा खाल्डा पुर्ने र सम्याउने काम थालेको छ ।
ठेकेदार कम्पनीको कामलाई नियमित र गुणस्तरीय बनाउन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नियमित रुपमा अनुगमन गरेका छन् ।
वर्षायाम आउँदै गरेको र वर्षायाममा थप समस्या हुनसक्ने भएकाले छिटो काम सक्नका लागि आफुले नियमित अनुगमन गरेको प्रमुख पाण्डेले बताए ।
उनले बुटवलको मुख्य सडकको सुधारमा सडक डिभिजन र ठेकेदार कम्पनीसँग निरन्तर छलफल गरेर समस्या समाधानका लागि अगुवाई गरेको बताए ।
‘यो सडक बुटवलको मात्रै नभई सिद्धार्थ राजमार्ग र पुर्वपश्चिम राजमार्गको भाग पनि हो, उनले भने–यो बाटो बिग्रिदा सडकका यात्रु, आसपासका व्यवसायी, बासिन्दाले त दुःख पाउनुभएकै छ, यसले बुटवलकै इमेजलाई समेत असर गर्छ, त्यसैले छिटो छिटो यो बाटो बनाउनुपर्छ त्यसका लागि बुटवल उपमहानगरपालिकाले के गर्नुपर्छ, मैले के गर्नुपर्छ, त्यो सबै गर्छु ।’
ठूलाठूला खाल्डा, धुलो र हिलोले मुख्य सडक नै अस्तव्यस्त बनेपछि तत्काल निर्माणको काम अघि बढाउन बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेले पदबहाली गरेकै दिनदेखि चासो देखाएका थिए ।
उपमहानगरपालिकामा पदबहाली गरेपछि पाण्डेले सडकका खाल्डा पुर्ने र सडक सुधार गर्न सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीलाई निर्देशन दिने निर्णय गरेका थिए ।
बुटवलको सडकका खाल्डाखुल्डी पुर्न, सम्याउन र धुलोहिलोको समस्या समाधानका लागि निरन्तर छलफल गरेर समस्या समाधानका लागि अगुवाई गरेको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार विकास शाखाका प्रमुख सुमन श्रेष्ठले जानकारी दिए ।
‘सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीसँग निरन्तर छलफल गरेर बुटवलको बाटोको समस्या समाधान गर्नुप¥यो भन्नेमा मेयरसाबले नै चासो देखाउनुभएको थियो, त्यसपछि काम शुरु भएको छ’,–उनले भने ।
उपमहानगरपालिकाको निर्देशनपछि बुटवलको मुख्य सडकका खाल्डा पुर्ने र सम्याउने काम शुरु गरेको ठेकेदार कम्पनी द कञ्चनजंगा विरुवा जेभी कन्स्ट्रक्सनका इन्जिनियर प्रवीण मिश्रले बताए ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बुटवल उपमहानगरको चासो र सक्रियतापछि बुटवलको सडकका खाल्डाखुल्डी पुर्न र सम्याउनका लागि ठेकेदार कम्पनीले काम थालेको बताए ।
बुटवलको विस्तार थालिएको मुख्य सडक राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणका लागि ठेक्का भइसकेपनि ठेकेदारले समयमा काम नगर्दा निर्माणको काम अलपत्र परेको थियो ।
४ लेनबाट बढाएर ६ लेन बनाउन २०७३ देखि निर्माण प्रक्रिया अघि बढाइएको थियो । बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाले २०७३ चैतमा ३० महिनामा सक्नेगरी ठेक्का दिएपनि ठेक्का लिने कम्पनी कञ्चनजंगा बिरुवा जेभीले विभिन्न बहानामा काममा ढिलासुस्ती गर्दै आएको थियो ।

 
 
  
 

You may also like