लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्वारा सरकारमा दावी पेश गर्दै

by समतल अनलाइन

बुटवल। लुम्बिनी प्रदेश सरकारमा आज (बिहीबार) विपक्षी गठबन्धनले दाबी पेस गर्दैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो (बुधबार) पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो ३ बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति अनुसार शुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आहृवान गरेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते विशेष अधिवेशन आह्वान गरेका थिए ।

विशेष अधिवेशन आह्वान नै गलत भएको जिकिर गर्दै लुम्बिनी प्रदेशका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर रिटमाथि सुनुवाइ भएकै दिन प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भयो । तर अविश्वास प्रस्ताव टुंगो नलाग्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

सर्वोच्चले यस मुद्दामा प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको छ र रिटलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो फागुुनसम्म माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछिको बाँकी अवधिका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने सहमति भएको छ ।

 
 
  
 

You may also like