नवलपरासी गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका–६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो ।

सोही घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा छन्। नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार छानबिन समितिले एक दुई दिनभित्रै स्थलगत छानबिन शुरु गर्नेछ । समितिलाई ७ दिनभित्र घटनाको सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित बनकट्टी नाकादेखि केही पश्चिमबाट अभिनाशसहितका केही युवा भारत जान खोज्दा सशस्त्रले रोकेको थियो । सोही क्रममा भनाभन हुँदा सशस्त्रको लाठी प्रहारबाट एक युवकको टाउकोमा चोट लागेपछि नजिकैको गाउँबाट केही युवाहरु चिर्पट दाउरा लिएर सशस्त्रमाथि जाइ लागेका थिए ।

बिहान साढे ८ बजेदेखि स्थानीय र सशस्त्रबीच झडप भएको थियो । हुलदङ्गा बढ्न थालेपछि सशस्त्रले तीन राउण्ड हवाइ फायर गर्‍यो ।
त्यसलगत्तै सशस्त्रले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । सशस्त्रले हवाइ फायर गरेपछि युवाहरु पछाडि हट्न खोज्दा खोज्दै सशस्त्रले गोली हानेको दावी स्थानीयले गरेका छन् ।

 

 
 
  
 

You may also like