जसपाका शीर्ष नेताको वैठक शुरु, नयाँ सत्ता समीकरणका लागि निर्णायक हुने अनुमान

काठमाडौं। नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको प्रस्तावपछि आज (आइतबार) जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको वैठक बसेको छ ।

नयाँ सत्ता समीकरणमा निर्णायक रहेको जसपाको शीर्ष नेताको वैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई तथा वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतो रहेको हाइकमाण्डमा नेता राजेन्द्र श्रेष्ठ पनि आमन्त्रित भएका छन् ।

पार्टी कार्यालय बालकुमारीमा शुरु बैठकले नयाँ सत्ता समीकरणमार्फत अघि बढ्ने वा वर्तमान प्रधानमन्त्री ओलीबाटै आफ्ना माग सम्वोधन गराएर अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने जनाइएको छ । आजको वैठकले ओली सरकारको विकल्पका बारेमा ठोस धारणा सार्वजनिक गर्ने अनुमान चलिरहेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ सत्ता समीकरण बनाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने पक्षमा छन् ।

शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतालाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोगका लागि आग्रह गरेका थिए । त्यसवेला जसपा अध्यक्ष महन्थ ठाकुरले पहिलो पटक कांग्रेसबाट प्रस्ताव आएको भन्दै आफ्नो पार्टीमा निर्णय गरेर जवाफ दिने बताएका थिए । त्यसपछि उनले आफ्नो पार्टीमा छलफलका लागि नेताहरुलाई डाकेका हुन् । जसपाले कांग्रेस सभापतिले राखेको प्रस्ताव औपचारिकताका लागि मात्र भएको भन्दै त्यसबाट परिणाम ननिस्कने बताइरहेको छ ।

‘कांग्रेस सभापतिले केन्द्रीय समितिले हाम्रो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ, तपाईहरु सहयोग गरिदिनुस् भन्नु भएको छ’, जसपाका एक नेताले भने, ‘उहाँ नै औपचारिकताका लागि प्रस्ताव राख्दै हुनुहुन्छ भने जसपाले निर्णय गर्ने कुरा नै हुँदैन । छलफल पछि एउटा धारणा बनाउन सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौ ।’ उनले जसपाको बैठकबाट कांग्रेससँग सत्ता साझेदारीबारे निर्णय हुन सक्नेमा आफू आशावादी नरहेको बताए ।

 

 
 
  
 

You may also like