कोरोना संक्रमण फैलिन नदिन उवासंघ बुटवलको आग्रह

बुटवल । छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमणको दर बढेपछि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपालमा त्यसको संक्रमण फैलिन नदिनको लागि सीमा नाकामा कडाई गर्न र स्वास्थ्य मापदण्डको पालनाको लागि आग्रह गरेको छ ।

संघले आइतबार प्रेस विज्ञप्ती जारी गरि कोरोना भाइरसको संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि सरकारलाई सिमा नाकामा कडाई गर्न र उद्योगी व्यवसायीसहित आम समुदायलाई स्वास्थ्य मापदण्ड पालनाको लागि आग्रह गरेको हो ।
संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूद्वारा हस्ताक्षरित विज्ञप्तीमा सभा सम्मेलन, जुलुस लगायतका भिडभाड हुने गतिविधि नगर्नको लागि सरकारले गरेको आग्रहलाई स्वागत गर्दै सरकारले गरेको आग्रहको पालनाको लागि समेत सबैलाई आह्वान गरिएको छ ।

नेपालसंग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दर बढेपछि त्यसले गम्भिर बनाएको उल्लेख गर्दै नेपालमा संक्रमण फैलिन र त्यसबाट उत्पन्न हुने नकारात्मक प्रभाव हुन नदिनको लागि सरकार गम्भिर बन्नुपर्ने उल्लेख गर्दै सीमा नाकामा हुने आतजावतलाई कडाई गर्न, सीमामा कोभिड–१९ सम्बन्धि चेकप्वाईन्ट स्थापना गर्न, हेल्पडेस्क राख्न र नेपाल भित्रिने सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनको लागि सरकारसंग आग्रह गरिएको छ ।

त्यसै गरी संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि उद्योगी व्यवसायीसहित आम समुदायमा अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्ने लगायतका सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालनाको लागि आग्रह गरिएको छ ।

 
 
  
 

You may also like