ओलीलाई विदा गर्न कांग्रेस तयार छ, माओवादी केन्द्र र जसपा स्पष्ट भएनन् : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) स्पष्ट हुन नसक्दा केपी ओली सरकारलाई हटाउन समस्या रहेको बताएका छन् ।

आज (आइतबार) बिहान ठमेलको चाक्सीबारीस्थित आफ्नो निवासमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेस एक्लैको प्रयासले नैतिकताहीन सरकारको विकल्प दिन नसकिने स्पष्ट पार्दै भने, ‘केपी ओली नेतृत्वको सरकार हटाउने कुरा सोचे जस्तो सहज नभएको बताए ।’

‘ओली सरकारको बहिर्गमनका लागि एकातिर माओवादीले समर्थन फिर्ता लिन अलमल गरिरहेको छ । अर्कोतिर जसपा ओली सरकारका विषयमा प्रष्ट हुन सकिरहेको छैन,’ सिंहले थपे, ‘कांग्रेसले केही गर्ने भन्नुभन्दा जसपा र माओवादीले पहिले सरकारका बारेमा स्पष्ट हुन जरुरी छ ।’
माओवादी र जसपाले सरकार ढलाउने औपचारिक निर्णय लिए मुलुकमा देखिएको अन्योलता चिर्न कांग्रेस तयार रहेको भन्दै उनले कांग्रेस जिम्मेवारी लिएर परिस्थितिलाई सम्हालेर जान तयार रहेको बताए ।

नेता प्रकाशमान सिंहले सत्तारुढ नेकपा एमाले र सत्ता साझेदार नेकपा माओवादी केन्द्रको शब्दकोषबाट नैतिकता शब्द हराएको बताएका छन् । ‘जनतासँग जुन म्यान्डेट लिएर आएका थिए त्यो म्यान्डेट पूरा गर्न नसकेपछि अब अलि कति नैतिकता देखाई दिएर राजनीतिप्रतिको विश्वास बढाउँलान् कि भनेको झनै आदर्शका कुरा गरेर सत्तामा टाँसिरहेका छन्,’ नेता सिंहले भने ।

कार्यक्रममा नेता सिंहले विश्वकर्मा समाजका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद विश्वकर्मासहित डेढ दर्जन अगुवाहरुलाई काँग्रेसमा प्रवेश गराएका छन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश रसाइली, संविधान सभा सदस्य दिपक कुईंकेल, काँग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बनियाँलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

 
 
  
 

You may also like