डा. भट्टराई भन्छन्, ‘रेशम चौधरी रिहाइको शर्तमा ओलीलाई समर्थन गर्न सकिंदैन’

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेताहरूको रिहाइको शर्तकै भरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् ।

जसपाको महन्थ ठाकुर पक्ष कारागारमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्न सकिने गरी चरणवद्ध छलफलमा रहेकै बेला नेता भट्टराईको यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल भइरहेको अवस्थामा रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने ? भन्ने प्रश्न पनि भट्टराईले गरेका छन् ।

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुन सक्दैन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ? भन्ने हो ! कुनै भ्रम नरहोस !’

सत्ता समीकरणका विषयमा यसअघि प्रधानमन्त्रीसँगको जसपा छलफलमा समेत पूर्व प्रधानमन्त्री समेत रहेका जसपा संघीय परिषद अध्यक्ष अनुपस्थित भएका थिए । तर, कांग्रेस–जसपाबीचको छलफलमा भने उनी सहभागी थिए । डा. भट्टराईले लामो समयदेखि ओलीको कदमविरुद्ध कडा विरोध जनाउँदै आएका छन् । उनले ओलीबाट देशलाई बचाउनु पर्ने अभिव्यक्तिहरु यसअघि नै दिइसकेका छन् ।

 
 
  
 

You may also like