दैलेखमा बस दुर्घटना, दुईको मृत्यु, १६ घाइतेमध्ये सात जना गम्भिर

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

आज (बिहीबार) कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिएका छन् ।

गाडी सवार १८ जनामध्ये एक जनाको घटनास्थलमै र अर्का एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोको साविक भर्ती गाविस–९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक छन् ।

दुर्घटनामा परी घाइते भएकामध्ये सात जना गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

 

 
 
  
 

You may also like