एमाले–माओवादी केन्द्रका सांसदको बसाई आजदेखि छुट्टै लहरमा

काठमाडौं। प्रतिनिधिसभाको आज (बुधबार) को वैठकबाट नेकपा एमाले र नेकपा (माओवादी) केन्द्र अलग संसदीय दलको रुपमा देखिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्र सत्ता पक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल भइरहेको जानकारी दिएका छन् । एमाले र माओवादी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । आफूहरु सत्ता पक्ष वा प्रतिपक्ष कहाँ बस्ने भन्ने कुरा संसद सचिवालयले व्यवस्था गरे अनुसार हुने गुरुङले बताएका छन् ।

निर्वाचन आयोगले केपी शर्मा ओलीलाई नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई माओवादी केन्द्र दिइएको पत्र संसद सचिवालयलाई मंगलवार नै पठाइसकेको छ । सो पत्र सबै प्रदेशसभा सचिवालयहरुमा पनि पुगेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदहरुको बस्ने सिट व्यवस्थापन मिलाइने बताउँछन् । माओवादी केन्द्र विपक्षमा गएको सूचना नआएकाले आज सत्ता पक्षकै अर्को लहरमा व्यवस्था हुने पाण्डेले बताएका छन् ।

उनले भने, ‘आयोगको पत्र प्राप्त भएको छ । अहिलेसम्म उहाँहरु सत्ता पक्षमै रहेको हुनाले सत्ता पक्षकै लहरमा अर्को व्यवस्थापन गरिन्छ । हिजोसम्म एउटै दलको हुनाले एकै ठाउँमा हुनुहुन्थ्यो, आजबाट नजिकै अरु व्यवस्था गरिन्छ ।’

पुनर्स्थापित प्रतिनिसभाको पहिलो बैठकका दिनसम्म सत्ता पक्षका सांसदको पहिलो लहरमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङ बस्ने गरेका थिए । आजबाट प्रचण्ड सत्तापक्षकै लहरमा रहे पनि माधव नेपाल झलनाथहरुसँग बस्ने छैनन् । अब प्रतिनिधिसभामा माओवादी केन्द्र तेस्रो दल बनेको छ । चौथो दलका रुपमा जसपा रहनेछ भने अन्य साना दलहरु राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।

 
 
  
 

You may also like