प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी वैठक बस्दै, नेकपा बदरको फैसलाविरुद्ध निर्णय लिने

काठमाडौं। सर्वोच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसलाको विषयमा आवश्यक छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

छलफलमा अदालतको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

सर्वाेच्चको हिजोको फैसला ‘राजनीति फैसला’ भएको टिप्पणी प्रचण्ड–नेपाल पक्षले गरेको छ । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा सहमत हुन नसक्ने बताएका छन् । ‘तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुद्ध छ , राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ ।

यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ’, उनले लेखेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शासन र ब्यवस्थाको बिरुद्ध बिभिन्न शक्तिहरुको षड्यन्त्र जारी छ भन्नेतर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ ।’ सर्वोच्चको हिजो (आइतबार) को फैसलाविरुद्ध पुनरावलोकनमा जाने सम्भावना रहेको प्रचण्ड–नेपाल पक्षका नेताहरु बताउँछन् ।

 
 
  
 

You may also like