आमसभामा ओली र बादलको भाषणमा भीम रावलको प्रतिक्रिया : ढाँटेको कुरा काटे मिल्दैन

by समतल अनलाइन

काठमाडौं। प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सम्वोधनमाथि कडा टिप्पणी गरेका छन् ।

उनले एकातिर प्रधानमन्त्री ओलीले हरेकका लागि विकास गरेको दावी गरेको र अर्कातर्फ काम गर्न नदिएको भनेर प्रतिनिधि सभा विघटन गरेको भनेर आफ्नै कुराको खण्डन गरेको प्रतिक्रिया दिएका छन् ।

‘प्रम केपी ओलीले एकातर्फ आफूले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधि सभा विघटन गरेको कुरा गरेर आफ्नो भनाइको आफै खण्डन गर्नुभयो’, शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो । उहाँकै शब्दमा–चटकेको पछि नलाग्नु ।’

यस्तै गृहमन्त्री थापाले असंवैधानिक कदम विरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने अभिव्यक्ति दिएकोविरुद्ध नेता भीम रावलले आपत्ति जनाएका छन् । उनले गृहमन्त्री थापाको अभिव्यक्तिपछि गरेको ट्वीटमा गृहमन्त्रीको भाषयाले प्रधानमन्त्री ओली निरकुंश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दिवा सपना देखेको उल्लेख गरेका छन् ।

उनले भनेका लेखेका छन, ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ ।’

 
 
  
 

You may also like