सैनामैनामा महिलासँग ‘उपप्रमुख’ कार्यक्रम, एक महिने हाते ढाका बुनाई तालिम सुरु

by समतल अनलाइन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा महिलासँग ‘उपप्रमुख’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम नगरमा सोमबारदेखि एक महिने हाते ढाका बुनाई ( होजेरी ) तालिम सुरु भएको हो ।

सैनामैना १ रानिवगियामा तालिमको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा रहेका महिला दिदीबहिनीहरुलाई उद्यमी बनाउने नगरको योजना अनुरुप तालिम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘घर घरमा उद्यमी महिला उत्पादन गर्ने नगरको लक्ष्य छ, यसमा महिला दिदीबहिनीहरुको साथ आवश्यक छ । तालिममा सिकेका कुरालाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिदैँ प्रमुख कार्कीले सीप सिकेर व्यवसाय गर्न चाहनेलाई मेसिन उपकरण समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घरेलु उद्योगलाई प्रवद्र्धन गर्दै लघु उद्यममा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिका भित्र भएका पछाडी परेका, विपन्नता, जनजाती तथा फरक क्षमता भएका महिलाहरुलाई लक्षित गरी तालिम सुरु गरिएको उपप्रमुख बिना रानाले बताउनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै ढाका बुनाइबाट राम्रो आम्दानी लिन सकिने भएकोले ढाका बुनाई सबै वडाका महिलाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।

हाते मेसिनको प्रयोग गरेर तयार गरिएको ढाकाको कपडाको माग बढेसंगै राम्रो आम्दानी हुने भएपछि तालिम लिएर व्यवसाय गर्नेको संख्या समेत वृद्धि हुन थालेको बताउँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । नेपाल मगर संघ सैनामैनाका अध्यक्ष सुर्य बिक्रम रानाले ढाका बुनाइ एउटा परम्परागत कला रहेकोले यसले नेपालीको पहिचान समेत दिलाउने धारणा राख्नुभयो ।

नगरमा रहेका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य लिई ११ वटै वडाका करिब २२ जनालाई तालिम दिन थालिएको नगर महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको भनाई छ । आगामी फाल्गुण १८ गते सम्म सञ्चालन हुने तालिमको प्रशिक्षण सैनामैना परम्परागत हाते तान उद्योगकी सञ्चालक लेखा दगामी मगरले दिनुहुनेछ । दुई समुहमा तालिम प्रदान गरिने छ ।

कार्यक्रम सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाको अध्यक्षता, नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नेपाल मगर संघ सैनामैना नगर समितिका अध्यक्ष सुर्य विक्रम रानाको आतिथ्यतामा भएको हो । कार्यक्रमको सञ्चालन डिला रानाले गर्नुभएको थियो ।

 
 
  
 

You may also like