धनगढी। प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल शनिबार बिहान धनगढी आउँदै छन् ।
धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिएका छन् । धनगढीको दुई ठाउँबाट र्याली निकालिने लामाले जानकारी दिएका छन् ।
र्याली कार्यक्रमस्थलमा गएर टुङ्गिने छ । ‘एउटा र्याली धनगढी चौराहबाट निस्किन्छ । अर्को केएमसी कलेजबाट दुवै कार्यक्रमस्थलमा गर टुङ्गिने छन्,’ नेता तामाङले भने, ‘सभामा ५० हजार मानिस सहभागी हुने अनुमान गरेका छौं ।’
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् ।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो समूले यसअघि काठमाडौं, बुटबल, विराटनगरलगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ । आउँदो माघ २८ गते नेकपाले काठमाडौंमा दुई लाख नागरिक उतार्ने गरी अहिलेसम्मकै विशाल शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । पछिल्लो समय नेकपाको विरोध प्रदर्शनमा नागरिक सहभागिता उल्लेख्य रुपमा बढ्दै गइरहेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले पनि वडा तहसम्मै विरोधका कार्यक्रम घोषणा गरेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरु पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि भइरहेका आन्दोलनका पक्षमा देखिएका छन् ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै अहिले आन्दोलन गर्ने मनस्थितिमा छैनन् । उनले आन्दोलनमा भन्दा पनि सरकारले बैसाखका लागि घोषणा गरेको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।