संसद विघटनको अधिकार ओलीलाई छैन : गगन थापा

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने व्यवस्था नभएको प्रष्ट पारे ।

कांग्रेस बुटवल नगर समितिले आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै उनले प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक भएको बताए ।

‘संविधान पल्टाएर, बुझेर, जानेरै संविधानको धारा ७६ लेखेको हो । नशामा लठ्ठ परेर होइन’ उनले भने । संवैधानिक इजालसमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा के गर्ने भनेर प्रधानन्यायाधीशले बारम्बार प्रश्न गरेको भन्दै नेता थापाले ‘बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गरे कि घर बस्ने घर बस्न मन नलागे वनमा बस्ने’ भन्दै व्यंग्य गरे ।

उनले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेकै कारण पूर्वन्यायाधीशहरू समेत एक ठाउँमा उभिएर सरकारको ध्यानाकर्षणसमेत गराएको बताए । ‘संविधानमा कही कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन । त्यसैले पनि पूर्वन्यायाधीशहरू एक ठाउँमा उभिएर बोले । यसबाट पनि प्रष्ट हुन्छ कि ओलीको कदम असंवैधानिक मात्र होइन अनधिकृत पनि हो’ उनले भने ।

थापाले संसद विघट बारे सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुन न्यायधिसहरुलाई आग्रह गरेका छन् । संविधानको रक्षा गर्दै सर्वोच्चले संसद पुनःस्थापनको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले न्यायलयलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगरेको दाबी गर्दै उनले भने ‘श्रीमानहरु बाहिरी हल्लाको प्रभावमा वा कोठा भित्रको खासखुसमा प्रभावित नहुनुस् ।’ सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले भने ‘श्रीमानहरुले संविधानलाई टेकेर निर्णय गर्नुस्, छिटो निर्णय गर्नुहोस् ।’ संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभई चरम अराजनैतिक र अनाधिकृत भएको उनले उल्लेख गरे ।

 
 
  
 

You may also like