‘प्रधानमन्त्रीले झुट बोले’

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले पार्टीको आधिकारिकता र सूर्य चिन्ह माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन कानुनी रित नपुगेकाले फिर्ता भएको बताएका छन् ।

प्रचण्ड–माधव पक्षका वहुमत नेकपा केन्द्रीय सदस्यले नेकपा र सूर्य चिन्हको आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आफू निकट प्रवासी नेपाली एकता मञ्चको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षको निवेद खारेज भएको र आधिकारिक पार्टी र सूर्य निन्ह आफूहरुको भएको बताएका थिए।

तर निर्वाचन आयोगले यसबारेमा कुनै निर्णय नभएको बताएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदन खारेज गरेको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘उहाँहरुले निर्वाचन आयोगमा निवदेन दिनु भएको रहेछ । आयोगले हिजो उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर फिर्ता पठाइदियो । उहाँहरुको आधिकारिक पार्टी हामी हौं भन्ने दाबी रहेको थियो । त्यो दाबी निवदेनमा अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन पनि उल्लेख नभएको, केही प्रमाण नभएको यसको केही अर्थ छैन भनेर फिर्ता पठाई दियो,’ ओलीले भने ।

सूर्य चिन्ह आफूहरु भएकाले निर्वाचन आयोग जान आवश्यक नभएको उनले बताए । ४८ सालदेखि सूर्य चिन्ह आफूहरुको भएको उनले बताएका छन् । निर्वाचन आयोगका कानुन शाखाका उपसचिव गंगा खरेलले निवेदन राखेजीबारे आफूले पत्र नपाएको बताए । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि उक्त विषयमा जानकारी नपाएको बताए ।

नेकपा दाहाल नेपाल समूहका नेता कृष्णभक्त पोखरेलले निवेदन खारेज नभएको बताए । ‘निवेदन हामीले दर्ता गरिसकेका छौं । यसमा आयोगले आफ्नो निर्णय दिन बाँकी छ’, उनले भने, ‘प्रधानमन्त्रीले सरासर झुट बोल्नु भयो ।’ आयोगका सहप्रवक्ता धमलाले भने, ‘निवेदन आएपछि दर्ता हुन्छ । दर्ता भएको निवदेन फिर्ता हुँदैन, मैले आयुक्तहरुसँग पनि सोधिसकें, उहाँहरु (प्रचण्ड–नेपाल पक्ष) को निवेदन फिर्ता भएको छैन ।’

नेकपाको दुवै समूह आरोप प्रत्यारोपमा उत्रिएका बेला प्रधानमन्त्री ओलीले अर्को पक्षलाई अत्याउन र आफ्नो पक्षको मनोबल बनाउन यस्तो झुट बोलेको हुनसक्ने एक अधिकारीले बताए ।

 

 
 
  
 

You may also like