प्रदेश राजधानी दाङ् लैजाने सरकारको प्रस्ताव बिरुद्ध तीनवटा सरकारी गाडी तोडफोड

by समतल अनलाइन

बुटवल। प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ्को भालुवाङ्मा राख्ने प्रदेश सभामा प्रस्ताव पेश गर्न नभ्याउँदै बुटवलमा उक्त प्रस्तावको बिरोध भएको छ । सरकारको तर्फबाट शुक्रबारको प्रदेश सभा बैठकमा राजधानी दाङ्को भालुवाङ र नाम लुम्बिनी राख्नेगरी प्रस्ताव पेश भएको थियो ।
प्रदेश सभामा उक्त प्रस्ताव भएलगत्तै त्यसको बिरोधमा प्रदेश सभा अंगाडी मुल सडकमा टायर बालिएको छ भने एउटा सरकारी गाडी समेत तोडफोड भएको छ । प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा बुटवललाई प्रदेशको राजधानी बनाउने चुनावी नारा सहित नेकपा महासचिव बिष्णुप्रसाद पौडेलले प्रतिनीधि सभामा चुनाव जित्नु भएको थियो ।
यद्यपी चुनाव लगत्तै पूर्ववर्ती काँग्रेस सभापति शेरबहादुर देउवा सरकारले प्रदेश पाँचको अस्थायी राजधानी बुटवललाई तोकेर प्रदेशको प्रशासनिक काम बुटवलबाट हुँदै आएको थियो । प्रदेशको राजधानी सार्न सड्यन्त्र गरिएको भन्दै स्थानीयले शुक्रबार पूर्वपश्चिम राजमार्ग बुटवलको नेपालगञ्ज रोडमा टायर बालेर प्रदेश सरकारको उक्त निर्णयको बिरोध गरिएको हो ।

त्यसैको बिरोधमा शुक्रबार नै बुटवलमा तीन वटा सरकारी गाडी तोडफोड भएका छन् । त्यस्तैगरी प्रदेश सभाबाट निस्किँदै सामाजिक बिकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ र अर्को लु १ झ ४४९ नम्बरको सरकारी गाडीमा तोडफोड गरिएको छ । प्रदेशको स्थायी राजधानी अन्यत्रै तोक्नलाई अनावश्यक चलखेल गरि बहुसंख्यक जनताको मर्म र भावना विपरित सरकारले प्रस्ताव पेश गरेको भन्दै त्यसको बिरोध गरिएको उनीहरुले बताएका छन् ।

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बिच प्रदेश पाँचको राजधानी दाङ् राख्ने सहमति बनेपछि प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ्को भालुवाङ् राख्ने प्रदेश सभामा प्रस्ताव पेश गरेको हो । यहि बिषयलाई लिएर कतिपयले नेतृत्वले निर्णय गर्ने भएपछि प्रदेश सभा सदस्यहरुको काम के हो ? भनेर समेत सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

 
 
  
 

You may also like