तीन महिनाभित्र कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा रुस

पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप
काठमाडौं। रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको जनाएको छ ।अक्टोबर महिनामा कोरोनाविरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताएका छन् । उनले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिएका छन् ।

यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ । झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण शुरु भइसकेको छ ।

कोरोना सङ्क्रमित धेरै भएका देशमा रुस चौथो स्थानमा छ । रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ । अहिले विश्वभर एक करोड ७९ लाखमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये एक करोड १३ लाख निको भएका छन् । ६ लाख ८७ हजारको भने ज्यान गएको छ । एजेन्सी

 

 
 
  
 

You may also like