म्याग्दीको पहिरोमा बेपत्ता थप एकजनाको शव फेला

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका-६, मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एकजनाको शव भेटिएको छ।मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको संख्या २८ जना पुगेको प्रहरी नायव उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए।

प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन्। चारजना अझै बेपत्ता छन्।मराङका १९, मालिका-७ बिमका आठ र रघुगङ्गा-६ ठाडाखानीका एकजनाको शव भेटिएको छ।

पहिरोले पुरिएका मालिका-७, बिमकी एलिसा केसी, धवलागिरि-६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका-६ की गीता रोका भेटिएका छैनन्।

प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ।

पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सातजनाको बेनी अस्पताल, एक जनाको काठमाडौं र चारजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।

 
 
  
 

You may also like