ठूला छिमेकीबीच ठूलो तनाव : ‘भारत र चीनको तनावले कालापानीमा गतिविधि बढ्न सक्छ’

काठमाडौं। दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको छ ।दुई देशको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ ।जनसंख्याको हिसाबले विश्वको पहिलो र दोस्रो तथा परमाणु शक्ति सम्पन्न दुई उदाउँदा शक्तिबीचको तनावले एसिया मात्र होइन, पूरै विश्व तरंगित भएको छ ।
चिनियाँ सेनासँगको मुठभेडमा भारतका ३४ सैनिक बेपत्ता भएको समाचार बेलायती पत्रिका टेलिग्राफको अनलाइन संस्करणमा मंगलबार दिउँसो नै प्रकाशित भएको थियो । तर, मंगलबार साँझसम्म भारतीय पक्षले एक कर्णेलसहित तीन जनाको निधन भएको बताएको थियो । तर, राति ११ बजे भारतीय रक्षा मन्त्रालयले २० जना सैनिक मारिएको पुष्टि गरेको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ ।

झडप भएको क्षेत्र चीनले नियन्त्रणमा राखेको छ । त्यसैले चीनले शव पठाएपछि मात्र भारतले मृतकको संख्या यकिन गरेको हो । ‘चिनियाँ पक्षले मृतक भारतीय सैनिकको संख्या एकैपटक होइन, पालैपालो पठाएको छ,’ दैनिक भास्करले लेखेको छ । भास्करले चीनतर्फ ४३ सैनिक हताहत भएको दाबी गरेको छ । तर, स्वतन्त्र पुष्टि गरेको छैन ।

उता चिनियाँ पत्रिका ग्लोबल टाइम्सले झडपमा दुवैतर्फ क्षति भएको बताए पनि मृतक तथा घाइते सैनिकको संख्या यकिन नभएको लेखेको छ । भारततर्फ २० सैनिक मारिएको आधिकारिक पुष्टि हुँदासम्म चिनियाँ पक्षले आफ्नोतर्फको क्षतिको विवरण खुलाएको छैन ।

बरु ग्लोबल टाइम्सका सम्पादकले ट्वीटमा भनेका छन्, ‘मलाई जानकारी भएसम्म गलवान उपत्यकामा भएको झडपमा चिनियाँ पक्षलाई पनि नोक्सान भएको छ । म भारतीय पक्षलाई भन्न चाहन्छु कि अभिमानी नबन्नुस् र चीनको संयमलाई उसको कमजोरी नसोच्नुु् । चीन संघर्ष चाहँदैन, तर हामी संघर्षसँग डराउँदैनौँ ।’

ग्लोबल टाइम्सका सम्पादकको ट्विटभन्दा अगाडि सोही पत्रिकाकी एक रिपोर्टर वाङ वेनवेनले झडपमा चीनका पाँच सैनिक मारिएको र ११ घाइते भएको लेखेकी थिइन् । भारतीय स्रोतलाई उद्धृत गर्दै लेखेको ट्वीट उनले पछि डिलिट गरिन् ।

भारत र चीन दुवैले एक–अर्काको सीमा क्षेत्रमा सैनिक प्रवेश गरेका कारण झडप निम्तिएको आरोप लगाएका छन् । गोली नचलेको सो घटनामा भएको यसलाई निकै ठूलो मानवीय क्षति मानिएको छ । चीनतर्फ पनि क्षति भएको बताइए पनि पुष्टि हुन सकेको छैन ।

भारत र चीनको सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान भ्यालीमा गत २४ वैशाखदेखि तनाव बढ्दै आएको थियो । तनाव घटाउन दुवै देशले सैनिक तथा कूटनीतिक स्तरमा औपचारिक र अनौपचारिक वार्ता गर्दै आएका थिए ।

तर, सोमबार रातिको घटनाले दुई देशलाई सीधै आमने–सामने बनाएको छ । तर, अझै पनि दुवै देशले शान्तिपूर्ण वार्ताबाटै समस्या समाधान गर्ने बताएका छन् । थप झडप रोक्न र परिस्थिति सामान्य बनाउन गलवान क्षेत्रको पेट्रोल प्वाइन्ट नम्बर १७ मा भारतीय र चिनियाँ डिभिजन कमान्डरस्तरीय बैठक बसेको थियो ।

तर, बैठकमा भएका निर्णयबारे सार्वजनिक गरिएको छैन । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिक चिनियाँ इलाकामा जबरजस्ती प्रवेश गरेका कारण झडप भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारतीय सेनालाई संयमित राख्न र एकतर्फी रूपमा जबरजस्ती चिनियाँ भूभागमा प्रवेश गर्न नदिन भारत सरकारलाई आग्रह गरेका छन् ।

उनले भने, ‘पूर्ववत् सहमतिका आधारमा भारतीय पक्षलाई आफ्नो फौज आफ्नै सीमाभित्र रोक्न हामी आग्रह गर्दछौँ । शान्तिपूर्ण रूपमा परिस्थितिको समाधान गर्न हामी कटिबद्ध छौँ ।’ घटनामा चिनियाँ पक्षमा मानवीय क्षति भए–नभएको विषयमा चिनियाँ विदेश मन्त्रालयले केही भनेको छैन ।

पूर्वी लद्दाखका गलवानबाहेक पाङगोङ सो, डेमचोक, दौलत बेग ओल्डी, हट स्प्रिङलगायतका क्षेत्रमा दुवै देशका सैनिक आमने–सामने छन् । चीन र भारत दुवैले गलवान नदीलाई आफ्नो दाबी गरेका छन् ।

२४ वैशाखमा गलवान भ्यालीको सीमा क्षेत्रमा दुवै पक्षका सैनिकबीच झडप हुँदा भारतीय सेनाका ७६ जना घाइते भएका थिए । ‘टाउकोमा चोट लागेका भारतीय कमान्डिङ अफिसरलाई एयरलिफ्टबाट दिल्ली पुर्याइएको थियो,’ भारतीय अंग्रेजी दैनिक द हिन्दुले लेखेको छ ।

त्यसको चार दिनपछि सिक्किमको नाथुला सीमा क्षेत्रमा पनि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । गलवान उपत्यकामा ६ सातादेखि आमने–सामने भए पनि अहिलेसम्म कुनै पनि पक्षले ‘फायरिङ’ भने गरेका छैनन् ।

तनाव साम्य पार्न पछिल्लोपटक भारतीय विदेश मन्त्रालयको चीन डिभिजन हेर्ने सहसचिव नवीन श्रीवास्तव र चिनियाँ विदेश मन्त्रालयका महानिर्देशक वु जियाङहउबीच २३ जेठमा भिडियो वार्ता भएको थियो । यसैगरी, २४ जेठमा दुई देशका सेनाका लेफ्टिनेन्ट जनरलस्तरमा प्रत्यक्ष वार्ता भएको थियो ।

वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र चीनका तर्फबाट मेजर जनरल लियु लिन सहभागी थिए । त्यसयता दुई चरणमा मेजर जनरलस्तरमा वार्ता भएको थियो । सोमबार मात्रै भारत र चीनका ब्रिगेड कमान्डरस्तरमा वार्ता भएको थियो । तर, राति नै झडप भएको छ ।

गलवान उपत्यकामा भारत र चिनियाँ फौज क्रमशः पछि हट्दै गएको र परिस्थिति सामान्य हुँदै जाने अपेक्षा गरिएका वेला झडप भएको हो । सीमा क्षेत्र भारत र चीन दुवैका लागि रणनीतिक तथा आर्थिक रूपमा महत्वपूर्ण रहेको सामरिक मामिलाविद् सी राजामोहनले द इन्डियन एक्सप्रेसमा उल्लेख गरेका छन् । चीनले तिब्बततिर सडकलगायतको पूर्वाधार निर्माण गरिसकेको छ भने भारतले आफ्नो क्षेत्रमा सडक, पूर्वाधार तथा हवाई बेस बनाइरहेको छ ।

सन् १९६२ मा भारत र चीनबीच सीमायुद्ध भएको थियो । सो युद्ध विराम भएको पाँच वर्षपछि सन् १९६७ को जुन ११ मा सिक्किमको नाथुला सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान भएको थियो । भिडन्तमा ८० जना भारतीय सैनिकको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी चिनियाँ सैनिक मारिएको भारतीय दाबी थियो ।

सन् १९७५ अक्टोबर २० मा अरुणाचलको टुलङ ला क्षेत्रमा चिनियाँ एम्बुसमा परी भारतीय असाम राइफल्सका चारजना सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीच तनाव बढे पनि र सैनिकहरूबीच धक्कमधक्का भए पनि मानवीय क्षति भएको थिएन ।

तीन वर्षअघि सन् २०१७ को जुन १६ देखि अगस्ट २८ सम्म भारत र चीनका सैनिकबीच भुटानको डोक्लाम क्षेत्रमा युद्धको स्थित बनेको थियो । तर, दुई देशबीच कूटनीतिक वार्तापछि दुवै पक्ष फिर्ता भएर परिस्थिति साम्य भएको थियो ।

भारतले संविधानको धारा ३७० खारेज गरी जम्मु र कस्मिर तथा लद्दाखलाई केन्द्रशासित अलग–अलग प्रदेश बनाएपछि लद्दाख क्षेत्रमा सुरक्षा बढाएको थियो । यसमा चीन असन्तुष्ट थियो ।

पाकिस्तान प्रशासित कस्मिरबाट काराकोरम हाइवे हुँदै पाकिस्तानको ग्वादर बन्दरगाह जोड्ने चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) निर्माणमा भारतको असन्तुष्टि छ । तर, मनोवैज्ञानिक तनाव अचानक झडपमा परिणत भएको छ ।

भारत र चीनबीच अहिले ६ सातादेखि तनाव भइरहेको गलवान उपत्यका दुई देशको सीमा क्षेत्र ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मा छ । गलवान उपत्यका चीनको दक्षिणी सिनजियाङ प्रान्त र भारतको लद्दाखसम्म फैलिएको छ ।

भारतका रक्षा मामलाका जानकारहरूका अनुसार यो भाग भारतका लागि सामरिक रूपमा महत्वपूर्ण छ किनभने यो पाकिस्तान, चीन र भारतको सीमासँग जोडिन्छ । चीनका लागि पनि यो क्षेत्र रणनीतिक र आर्थिक रूपमा महत्वपूर्ण छ ।

चीन–पाकिस्तान इकोनोमिक कोरिडरको काराकोरम राजमार्ग पनि यही क्षेत्रबाट अघि बढ्छ । भारत र चीनबीच वास्तविक सिमाना कोरिएको छैन, तीन हजार चार सय ८८ किलोमिटर लामो सीमा छ ।

लाइन अफ एक्चुअल कन्ट्रोल मात्र तय भएको छ, त्यो लाइनबारे पनि दुई देशका आ–आफ्नै दाबी छन् । त्यसैले वेलावेलामा तनाव भइरहन्छ । सन् १९६२ मा युद्ध लडेका भारत र चीनले अहिले लद्दाख क्षेत्रमा सैनिक संख्या बढाएका छन् ।

दुई देशबीच तनाव बढ्दै गएपछि तीन साताअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताका लागि आफू तयार रहेको बताएका थिए । तर, दुवै देशले यसलाई अस्वीकार गरेका थिए र आपसी संवादबाट हल गर्ने बताएका थिए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like