चिउराको भरमा मात्र नौ दिनको यात्रा

सुर्खेत। ‘रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौं । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौं’, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे ।

हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको घर निर्माण गर्न पुगेको उनीहरुको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताए ।

उनले भने, ‘लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिँड्न बाध्य भयौँ । नौ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौँ ।’

अर्का मजदुर कर्णबहादुर बुढामगरले नौ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदलयात्रा गरेको बताए । बुढामगरले भने, ‘बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।’ यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उनको भनाइ थियो ।

उनले सरकारले घर पुर्याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताए । यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पुर्‍याएपछि मात्र आफूहरुले बुझ्ने जानकारी दिए । ‘हामीलाई बबई नाकाबाट आफैले ल्याउने अनुमति छैन’, अध्यक्ष मल्लले भने, ‘यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।’

दाल–भात कस्तो हुन्छ भन्ने भइसक्यो

पोखराबाट हिंडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सीमानाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गरे । मजदुरीका लागि पोखरा गएका उहाँले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताए ।

‘कमाएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिंडे’, रावतले भने । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुङ्गेश्वर गाउँपालिका दैलेखका साथीहरुसँग भेट हुँदा यात्रा अलि सहज भएको उनले बताए ।

उनले भने, ‘यो सात दिनको १४ छाक चाउचाउ र चिउरा खाएरै पैदल हिंडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भइसक्यो । बाटोमा खानबस्न कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो ।’ कर्णाली प्रदेशका थुप्रै बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा घर पुग्ने पिरलोले सताएको उनले दुःख व्यक्त गरे ।

गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु सकिने भएकोले घरसम्म पुर्‍याइ दिन सरकारलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बबई पुग्ने सबै कर्णालीवासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको समन्वयमा जिल्ला पठाइने बताए ।

 
 
  
 

You may also like