विदेशबाट आएका गोरखाका युवाको र्‍यापिड टेस्टमा देखियो कोरोना ‘पोजेटिभ’

गोरखा। गोरखा आरुघाट गाउँपालिकाका एकमा कोरोना संक्रमण देखिएको छ । र्‍यापिड डाइग्नस्टिक टेस्ट (आरडिटी) मा आरुघाटका एक युवामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

आरुघाटमा मंगलबार २० जनाको आरडिटी टेस्ट गरिएको थियो । तीमध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘उनी २३ फागुनमा विदेशबाट नेपाल आएका रहेछन् । नेपाल आएको ३८ दिनपछि आरडिटीमा पोजेटिभ देखियो’, जिल्ला जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले भने, ‘आरडिटीमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गर्न स्वाब पोखरा पठाएका छौं । सम्भवतः आज साँझसम्म त्यसको रिपोर्ट आउने छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आरडिटीमा कोरोना पोजेटिभ देखिने युवकको स्वास्थ्य अवस्था सामान्य छ । उनी अहिले आइसोलेसनमा छन् । ‘आरडिटी पोजेटिभ देखिएका युवकमा कोरोनाका प्रारम्भिक लक्षणहरु छैनन् । पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्र यस विषयमा हामी खुलस्त पार्नेछौं’, ती कर्मचारी भन्छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पछिल्लो समय जिल्लामा र्‍यापिट गाइग्नोस्टिक टेस्टलाई तीब्रता दिएको जनाएको छ। चैत ३० गते गोरखा नगरपालिका क्षेत्रका बासिन्दाको टेस्ट गरिएको थियो ।

मंगलबार भिमसेन र आरुघाट गाउँपालिकामा परीक्षण गरेको टोली आज शिरान्चोक र अजिरकोट गाउँपालिका परिचालन भएको छ । आरडिटी टेस्टबाट यसअघि काभ्रे, धादिङ र सप्तरीका चार जनामा कोरोना संक्रमण देखिएको थियो ।

 
 
  
 

You may also like