शाइन रेसुंगाले दियो ५० थान पीपीई

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्यूठान जिल्लालाई ५० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) दिएको छ । बैंकले शुक्रबार प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलाई उक्त पीपीई सेट हस्तान्तरण गरेको हो ।
बैंकको प्यूठान बिजुवार शाखाका इन्चार्ज मेघराज पोखरेलले शुक्रबार हस्तान्तरण गरेका पीपीई सेट प्यूठान नगरपालिका, प्यूठान जिल्ला अस्पताल, ऐरावती, नौ बहिनी, झिमरुक, सरुमारानी, गौमुखी र माण्डवी गाउपालिका, जिल्ला प्रहरी कार्यालय, खलंगा र भिंगृ स्वास्थ्य केन्द्र, नेपाली सेना र सशस्त्र प्रहरी गणलाई नगरपालिकाले आवश्यकता अनुसार बांड्ने बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले बताए ।
यसअघि बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको थियो । त्यस अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्र र स्थानीय तहहरुमा कोभिड–१९ का शंकास्पद विरामीको उपचारका लागि पीपीई सेट अभाव रहेको भन्दै बैंकसंग सहयोगको आग्रह गरेका थिए ।
मुख्यमन्त्रीको आग्रह अनुसार प्यूठानमा बांडिएको र प्रदेशका अन्य जिल्लामा पनि क्रमशः पीपीई सेट वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । प्रदेश ५ को पहिलो र एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाका प्रदेश ५ का १० जिल्ला, गण्डकी प्रदेशको बागलुङ, बुर्तिबाङ र बागमती प्रदेशको चितवनमा गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय छन् ।

 
 
  
 

You may also like