ट्रम्पले सिफारिस गरेको कोरोनाविरुद्धको औषधि प्रयोग गर्दा श्रीमानको मृत्यु, श्रीमती गम्भिर

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गरेको कोरोना भाइरस ‘कोभिड–१९’ विरुद्धको औषधि सेवन गर्दा अमेरिकाका एक व्यक्तिको मृत्यु भएको छ ।

एरिजोना राज्यका एक व्यक्तिको मृत्यु भएको र उनका श्रीमतीको अवस्था गम्भीर बनेको सीएनएनले जनाएको छ । गत साता ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘क्लोरोक्विन’ नामक औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले अनुमति दिएको बताएका थिए ।

तर, एफडीएले त्यस्तो अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको थियो । कोभिड–१९ विरुद्ध यसको प्रभावकारिताबारे अझै अध्ययन भइरहेको एफडीएले जनाएको थियो । तर, ट्रम्पको अभिव्यक्तिपछि एरिजोनाका एक दम्पत्तिले ‘क्लोरोक्विन’ सेवन गरेको अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा ट्रम्पले सिफारिस गरेको औषधिको प्रयोगमा एकको मृत्यु हुँदा नाइजेरिया क्लोरोक्विनको प्रयोगबाट ३ जना बिरामी परेका छन् ।

उक्त औषधि खाएर बिरामी भई तीन जना अस्पताल भर्ना भएको लागोसका अधिकारीहरुले बताएका छन्। उनीहरुले कोभिड–१९ को उपचारमा यो औषधि नखान पनि सुझाएका छन् । क्लोरोक्वीन यो मलेरिया, लुपस र गठिया रोगको उपचारमा प्रयोग हुने औषधि हो । सीएनएन

 

 
 
  
 

You may also like