३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता

काठमाडौं । अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर आउनेका हकमा पनि सात दिनभित्रको मेडिकल परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको थियो ।

त्यसको पालना नगर्ने विदेशी नागरिकलाई फिर्ता पठाइएको अध्यागमन विभागअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थीले जानकारी दिए ।

‘अनअराइभल भिसा बन्द गरिएको र विदेशबाट आउँदा मेडिकल रिपोर्ट देखाउनुपर्ने व्यवस्था भएको र त्यसको बेवास्ता गरी सोमबारसम्म नेपाल आएका ३५ जनालाई अध्यागमनबाटै फिर्ता पठाइएको छ,’ पन्थीले भने, ‘जसमध्ये मेडिकल रिपोर्ट बिनै आएका धेरै फिर्ता भएका छन् भने केही भिसा नलिई आउनेलाई फिर्ता गरिएको छ ।’

विमानस्थल अध्यागमनका अनुसार परिवर्तित अध्यागमन नियम पालना नगरेका कारण फिर्ता हुने नागरिकहरूमा फ्रान्सका ६ जना, चीनका पाँच जना, बेलायतका पाँच जना, जापानका चार जना, नेदरल्यान्डस्का ती नजना, इटलीका दुईज ना, इजरायलका दुई जना, चेक रिपब्लिकका दुई जना छन् ।

त्यसैगरी हङकङका एकजना, अमेरिकी एकजना, मेक्सिकोका एक जना, अफगानस्तानका एकजना, अस्टे«लियाका एक जना र मलेसियाका एक जना छन् । विभाग स्रोतका अनुसार फिर्ता हुनेमा केही विदेशी पासपोर्ट लिएका गैरआवासीय नेपाली समेत छन् ।

पछिल्लो नियमअनुसार विदेशी पासपोर्ट वाहक गैरआवासीय नेपालीले पनि सात दिनभित्रको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपालको कूटनीतिक नियोगबाटै भिसा लिनुपर्ने व्यवस्था छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण सरकारले नेपाल भित्रिने हवाई र स्थल नाकाहरूमा कडाइ गर्दै आएको छ । जसअनुसार सरकारले आइतबारदेखि विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिइँदै आएको अनअराइभल भिसासमेत बन्द गरेको हो ।

सरकारले कोरोना जोखिमकै कारण विदेशमा रहेका नेपालीहरुलाई समेत अत्यावश्यक काममा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ भने विदेशमा रहेका गैरआवासीय नेपालीले नेपाल आउनैपर्ने भए सम्बन्धित देशमा रहेको नेपालको कूटनीतिक नियोग, मिसनमा सम्पर्क गर्ने र सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउन अनिवार्य गरेको छ । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like