एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ ।

थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ । ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।

एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो । ‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ ।

डिपोपरिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना.५ख १३१०, ना.४ख २१७९ र ना.७ ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टीतेल मिसावट भएको भेटियो,’ स्रोतले भन्यो । डिजेल बोकेका तीनवटै ट्यांकर २० किलोलिटर क्षमता हुन् ।

त्यस्तै, २७ फागुनमा ना.७ख २४७० नम्बरको डिजेल बोकेको ट्यांकर परीक्षण गर्दा पनि मट्टीतेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाको नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो ।

‘मट्टीतेल मिसिएको पुष्टि भएपछि चारवटै डिजेल ट्यांकरलाई अहिले थानकोट डिपोको हाताभित्र राखिएको छ, तेल खन्याइएको छैन,’ स्रोतले भन्यो । थानकोट डिपोप्रमुख विनीतमणि उपाध्यायले चारवटै ट्र्यांकरलाई डिपोको लोडिङ क्षेत्रको कुनामा लगेर राखेका छन् । उनले डिजेल बोकेको ट्र्यांकरमा मट्टीतेल मिसिएको विवरण केन्द्रीय कार्यालयमा जानकारी गराइसकेका छन् ।

चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजेलमा मट्टीतेल मिसिएको प्रारम्भिक परीक्षणमा फेला परेपछि थानकोट डिपोले थप परीक्षणका लागि सिनामंगलस्थित निगमकै केन्द्रीय प्रयोगशालामा तेल पठाएको छ । केन्द्रीय प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ । अहिले थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा ताल्चासँगै अर्को सिल पनि लगाउने गरिएको छ ।

१९ माघमा थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरको ताल्चा समेत खोल्न मिल्ने मास्टर की सिनामंगल डिपोबाट हराएको घटना बाहिरिएको थियो । त्यसपछि ट्र्यांकरमा ताल्चा र सिल लगाउन थालिएको हो । सिल तोडेर तेल चोरी गर्न नमिल्ने निगमको प्रवक्ता वीरेन्द्र गोइतले बताएका थिए । तर, ताल्चा र सिल भएकै अवस्थामा ठूलो परिमाणमा तेल चोरी भएको छ । आधुनिक लकिङ सिस्टमले समेत चुहावट नियन्त्रण गर्न नसकेको घटनाले प्रस्ट पारेको छ ।

किन मिसाइन्छ डिजेलमा मट्टीतेल ?
स्रोतका अनुसार भारतमा कोटा र प्रचलित दर गरेर दुई प्रकारका मट्टीतेल उपलब्ध छन् । डिजेलभन्दा दुवै प्रकारको मट्टीतेल धेरै सस्तो पर्छ । आइओसीले कोटाको मट्टीतेल मूल्य १३.६० देखि ३८.५८ भारुसम्म निर्धारण गरेको छ ।

मुनाफा जोडिएको मट्टीतेलको मूल्य दिल्लीमा ५८.८१ भारु छ । तर, डिजेलको मूल्य भने दिल्लीमा ६३.०१ भारु निर्धारण गरिएको छ । कोटामा पाइने मट्टीतेलभन्दा डिजेलको मूल्य कम्तीमा दोब्बर छ ।

ट्यांकरचालकले भारतमा कोटाको मट्टीतेल बिक्री गर्ने डिलरसँग सम्पर्क बढाएका हुन्छन् । आइओसीको डिपोआसपासमै कोटाका मट्टीतेल बिक्रीकेन्द्र पाइन्छ । त्यस्तै, कतिपय भारतीय पेट्रोल पम्पले ट्यांकरचालककै लागि भनेर कोटाको मट्टीतेल राखिदिएका हुन्छन् ।

ट्यांकरचालकहरूले सकेसम्म कोटाकै मट्टीतेल उठाउने गरेका छन् । त्यसपछि कोटाको मट्टीतेल जति पाइन्छ, त्यति नै बराबरको डिजेल ट्यांकरबाट निकालेर मट्टीतेल हालिदिन्छन् । यसरी सस्तो मट्टीतेल ट्यांकरमा हालेर चालकले महँगो डिजेल झिक्छन् र भारत तथा नेपालका सीमावर्ती क्षेत्रमा रहेका पम्पमा बिक्री गर्छन् ।

चोरी गरेर बिक्री गरेको मट्टीतेलको पैसा चालकले ढुवानी व्यवसायी र कर्मचारीलाई समेत बुझाउने गरेका छन् । तीनै पक्षको मिलेमतोमा चोरी हुने भएकाले दोषी कारबाहीबाट जोगिने गरेका छन् ।

मास्टर की हराए लगत्तै एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी
हराएको मास्टर कीले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोमा डिजेल र पेट्रोल ओसार्ने दुई सयभन्दा बढी ट्यांकरको ताल्चा खोल्न मिल्छ । मास्टर की हराएपछि थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा चोरीको घटना बढेका छन् ।

एक व्यवसायीका अनुसार ८ फागुनमा अमलेखगन्जबाट थानकोट डिपोमा २० हजार लिटर डिजेल बोकेर आएको एक ट्यांकरमा दुई सय ५२ लिटर तेल गायब भएको भेटिएको थियो । तापक्रमका कारण तेल घटबढ हुने भएकाले निगमले निश्चित परिमाण नोक्सानी हुने लक्ष्य राखेको छ । तोकिएको लक्ष्य काटेर पनि सो ट्यांकरमा दुई सय ५२ लिटर कम तेल भेटिएको हो ।

त्यस्तै, २२ फागुनमा बरौनीबाट थानकोट डिपोका लागि डिजेल बोकेर आएको ना.४ख २५०२ नम्बरको ट्यांकरमा दुई सय ४७ लिटर कम (लक्षित नोक्सानी कटाएर) परिमाण भेटिएको थियो । यी दुवै ट्यांकर एभरेस्ट फ्युल ढुवानी सेवाको नाममा दर्ता छन् ।

यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो । बरौनीबाट डिजेल बोकेर २४ फागुनमा थानकोट डिपोमा आइपुगेको ना.४ख ३२५१ नम्बरको ट्यांकरमा पनि ९८ लिटर कम (लक्षित नोक्सानी कटाएर) परिमाण भेटियो ।

तोकिएको नोक्सानी दरभन्दा ५० लिटर कम तेल भेटिए बजार मूल्यअनुसार र ५० लिटरभन्दा बढी भए बजार मूल्यको दोब्बर जरिवाना तिराउने व्यवस्था छ । यसरी दोब्बर रकमका दरले जरिवाना तिर्न नमाने त्यस्ता ट्यांकरलाई अर्को पटक तेल किन्न जाने अनुमति (पिडिओ) दिन नहुने निगमको विनियमावलीमा व्यवस्था छ ।

यही व्यवस्थाअनुसार ना.४ख ३२५१ नम्बरको ट्यांकरले दोब्बर जरिवाना तिर्न नमानेपछि थानकोट डिपोले पिडिओ रोक्का गरेको छ । यो ट्यांकर व्यवसायी रोशन रौनियारको नाममा छ । उनले ट्यांकर अर्का व्यवसायी मुन्ना यादवलाई बेचे पनि नामसारी भइसकेको छैन ।

साना व्यवसायीको ट्यांकरलाई पिडिओ रोक्का गरेको थानकोट डिपोले ढुवानी व्यवसायी महासंघका महासचिव अर्यालको ट्यांकरलाई भने कारबाही गरेको छैन । ‘महासचिव अर्यालको दुवै ट्यांकरले जरिवाना नतिरी पिडिओ लिएर तेल ओसार्ने अनुमति पाइरहेका छन्, यो गलत भयो,’ स्रोतले भन्यो ।

कारबाही गर्नुपर्ने अर्यालको ट्यांकरलाई लेखा प्रमुख शिशिर सुवेदीले मिलेमतोमा पिडिओ जारी गर्दै आएका छन् । ढुवानी व्यवसायीले भाडाबापत पाउने रकमबाट ०.५ देखि एक प्रतिशत कमिसन लेखा प्रमुख सुवेदीकै माध्यमबाट डिपोमा बुझाउँदै आएका छन् ।

मट्टीतेल मिसिएको डिजेलले इन्जिनको आयु घटाउँछ
पेट्रोलियम गुणस्तरसम्बन्धी विज्ञहरूका अनुसार डिजेलमा मट्टीतेल सजिलै मिसिन्छ । तर, मट्टीतेलको चिप्लोपना कम हुन्छ । जसकारण मट्टीतेल मिसिएको डिजेल सवारीसाधन तथा औद्योगिक मेसिनरीमा प्रयोग गर्दा इन्जिनमा चाँडो समस्या हुन्छ ।

‘चिप्लोपना कम भएको मट्टीतेल मिसिएको डिजेल इन्जिनमा जाँदा तुलनात्मक रूपमा बढी घर्षण हुन्छ, यसबाट धुवाँ पनि बढी निस्कन्छ भने इन्जिनको आयु पनि घट्छ,’ एक विज्ञले भने । चोरी गरेको मट्टीतेलको ठूलो परिमाण पेट्रोल पम्पले नै किन्ने भएकाले सवारीसाधनमा मिसावट भएको डिजेल प्रयोगको सम्भावना बढी हुन्छ ।

 
 
  
 

You may also like