बच्चा बोकेकी ‘आमा’माथि पुरुष प्रहरीको लाठी, माला साह र सेनाका पूर्व जर्नेल

by समतल अनलाइन

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल (चर्चित) छ । भिडियोमा काखमा बच्चा बोकेकी एउटी महिला भागीरहेकी देख्न सकिन्छ । बच्चा बोकेर भागिरहेकी महिलालाई एकजना पुरुष प्रहरीले पछाडिबाट लठ्ठीले प्रहार गरिरहेका छन् ।

उक्त भिडियोका सन्दर्भमा सामाजिक सञ्जालमा अहिले विभिन्न थरी टिप्पणी भइरहेका छन् । बच्चा बोकिरहेकी महिलामाथि लाठी प्रहार गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग सामाजिक सञ्जालमा व्यापक छ ।

खबरहबलाई प्राप्त जानकारीअनुसार उक्त भिडियो बिहीबारको हो । र, घटना भएको स्थान भैंसीपाटी हो ।

भिडियोमा देखिएजस्तै बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने प्रहरी हुन्, महानगरीय प्रहरी प्रभाव बुङमतिका प्रमुख प्रहरी निरीक्षक देवि प्रसाद पौडेल ।

खबरहबले पौडेललाई बच्चा बोकिरहेकी महिलामाथि लाठी प्रहार गर्ने पर्ने अवस्था कसरी आइलाग्यो ? भन्दै प्रश्न गर्दा उनको जवाफ थियो, ‘कर्तव्य पालनाका शिलशिलामा कहिले काहिँ अपेक्षा नगरेको कुरा पनि हुन्छ ।’ आफूले नियोजित रुपमा ती महिलामाथि लाठी चार्ज गरेको नभइ कर्तव्य पालनाको शिलशिलामा यस्तो हुन गएको उनको भनाइ छ ।

घटनाको मूल कुरो के ?

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा बिहीबारको भिडियोले चर्चा पाएपनि भैंसीपाटी क्षेत्रमा भने विगत ३ महिनादेखि यो घटनाको मूल कारण चर्चाको विषय बनिरहेको छ ।

भैंसीपाटी बस्ने नेपाली सेनाका पूर्व जर्नेल (पूर्ण र्‍याङ्क नखुलेका) हेम खत्री भनिने (हेम थापा)लाई एक जना महिलाले आफ्नो श्रीमान् भएको दावी गर्दै उनको घर अगाडि धर्ना दिँदै आएकी थिइन् ।

माला साह नाम गरेकी महिलाले करिब ३ महिना अगाडिदेखि धर्ना दिन थाले पनि उनको विषयमा स्थानीय प्रशासन र प्रहरीले चासो दिएको थिएन ।

पछि महिला अधिकारकर्मीहरुको ‘सहयोग’मा मालाले महिला अयोगमा उजुरी दिएकी थिइन् । महिला आयोगले हेम खत्रीका नामले चिनिने (हेम थापा)लाई उपस्थित गराइदिन भन्दै केही दिन अगाडि महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठाएको थियो ।

प्रहरीले उक्त पत्रबारे थापालाई जानकारी पनि गराएको थियो । तर, उनले एउटा ई–मेल लेखेर महिला आयोगमा आफैं उपस्थित हुने जानकारी गराएका थिए । ‘अहिले बिरामी भएको र उपचार चलिरहेका कारण उपस्थित हुन सक्दिन । उपचार सकिएपछि म आफैं उपस्थित हुन्छु भनेर उहाँ (हेम थापा)ले ई–मेलमार्फत महिला अयोगले पठाएको पत्रको जवाफ पठाउनुभएको छ,’ महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले भन्यो ।

थापाले करिब १ हप्ता अगाडि ई–मेल लेखेर आफैं उपस्थित हुने बताएपनि अहिलेसम्म सम्पर्कमा नआएका महिला आयोग स्रोतले खबरहबलाई जानकारी दियो ।

‘एकजना महिलाले नेपाली सेनाका पूर्व जर्नेल हेम थापाले आफूसँग विवाह गरेपनि धोका दिएको र आफ्नो नाता प्रमाणित गराइदिनु पर्‍यो भनेर हाम्रोमा उजुरी दिनुभएको थियो,’ महिला आयोगका एक अधिकारीले भने, ‘हामीले त्यसबारे बुझ्नका लागि प्रहरीलाई पनि पत्र पठाएका थियौं । थापालाई उपस्थित गराइदिन भनेकोमा उहाँ आफैंले पत्र लेखेर केही दिनमा आउने भन्नुभएको छ । अहिलेसम्म भने आउनुभएको छैन ।’

थापाले महिला आयोगको पत्रको समेत वेवास्ता गरेपछि माला साह केही महिला अधिकारकर्मीको सहयोगमा बिहीबार थापाको घर घेराउ गर्न पुगेकी थिइन् ।

घर घेराउ गर्न पुगेका महिलाहरुले थापासँग भेट्न पाउनुपर्ने माग गर्दा आफू उनकी छोरी बताउने एक महिलाले थापा उपचारको लागि अस्पताल गएको बताएकी थिइन् । महिलाहरुले थापा अस्पतालबाट आउञ्जेलसम्म घरमै बस्ने अडान लिएपछि आफूलाई थापाकी छोरी बताउने महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।

थापाको घरबाट सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बुङमतिको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको टोलीले ‘लोकेशन क्लियर’ गर्न बल प्रयोग गर्दा त्यसको शिकार बच्चा बोकेर विरोध गर्न पुगेकी हेमा श्रेष्ठ हुन पुगिन् ।

प्रहरी प्रभाग वुङ्मतिका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) पौडेलले हेमामाथि लाठी प्रहार गरेका थिए । प्रहरीले थापाको घरबाट बिहीबार माला साहसहित ६ जना महिलालाई पक्राउ गरेको थियो ।

लाठी प्रहार गर्ने इन्सपेक्टर छानबिनको दायरामा

बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने इन्सपेक्टर छानबिनको दायरमा आएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको निर्देशन पछि अहिले महानगरीय प्रहरी परिसर ललितपुरले प्रहरी निरीक्षक पौडेलमाथि छानबिन शुरु गरेको हो ।

महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले इन्सपेक्टर पौडेलमाथि छानबिन गरी दोषी देखिए कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको बताए ।

‘बच्चा बोकेकी महिलामाथि पुरुष प्रहरीले लाठी चलाउनु आफैंमा गम्भीर विषय हो । महिलाको सन्दर्भमा महिला प्रहरी नै परिचालन हुनुपर्ने हो । त्यसमा कुनै विकल्प हुँदैन,’ डीआईजी पोखरेलले भने, ‘भैंसीपाटीको घटनाका सन्दर्भमा पनि केही कमजोरी भएको देखिएको छ । सत्यतथ्य छानबिन गरेपछि दोषी देखिएकालाई कारबाही हुन्छ ।’खबर हबबाट

 
 
  
 

You may also like