सुटुक्क अमेरिका भागे बास्कोटाका योजनाकार विकल पौडेल

by समतल अनलाइन

काठमाडौं । सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल ।

उनी चर्चामा आउनुको कारण हो – प्रेस स्थापनाका लागि खेलेको शंकास्पद भूमिका । सेक्युरिटी प्रेसमा उनको भूमिकाका विषयमा संसद्को लेखा समिति बैठकमा बिहीबार सांसदहरुले प्रश्न गर्दा पौडेल नाजवाफ भएका थिए ।

त्यसको केही समयमा सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए । थप यस्तै प्रश्नको सामना गर्नुपर्ला भनेर हुनसक्छ, त्यही राति पौडेल अमेरिका उडे । मन्त्रालय स्रोतका अनुसार पौडेलकी पत्नी, छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । १० दिने बिदा स्वीकृत गराएर गएको भए पनि चिकित्सक पत्नीको अमेरिकी ग्रिनकार्ड रहेकाले उनी उतै बस्ने अनुमान छ ।

उनको पनि ग्रिनकार्ड हुनसक्छ,’ उनीसँगै सुरक्षण मुद्रण केन्द्रमा काम गरेका एक पूर्व कर्मचारीले भने । पौडेल २०७४ असारमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनी सुरक्षण मुद्रण लगायत, मेसिन रिडेबल पासपोर्ट (एमआरपी), मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, हजार सामुदायिक विद्यालयमा आईटी ल्याब, नेपाल टेलिकमको फोरजी ठेक्का लगायत योजना र ठेक्कापट्टामा संलग्न थिए । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like