कोरियाका नेपाली धमाधम पक्राउ, ५० बढी पक्राउ परिसके

by समतल अनलाइन

काठमाडौं । दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए ।

खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरुको कम्पनीमा अध्यागमनले छापा मार्‍यो । दिवसलाई पक्राउ गरेर लग्यो ।

‘कपनी वरिपरी प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरु गए,’ कुञ्जनले भने, ‘पछि थाहा भयो अरुले जाँच दिएर भाषा पास गरी आएको आरोपमा उनलाई समातिएको रहेछ । अहिले डिटेन्सन सेन्टरमा राखेर जाँच कसले दिएको हो भनी सोधखोज गरिरहेको छ भन्दै थियो । अर्को हप्ता नेपाल पठाउने रे ।’

केही समयदेखि अरुले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ ।

‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले नियन्त्रणमा छन्’, प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने, ‘सबै ठाउँमा अहिले छापा मारेका छन्,’ उनले भने, ‘विभिन्न ठाउँबाट फोन गरेर केही सहयोग हुन्छ कि भन्छन् । यस्तो केसमा हामी केही गर्न सक्दैनौं ।’

कोरियाली भाषा परीक्षाको प्रवेशपत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड (परिचय पत्र) बनाउने बेलामा अध्यागमनले खिचेको फोटोका आधारमा धेरै नेपाली पक्राउ गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like