सिस्नुले दिलायो ‘प्रदेश रत्न’, सडक व्यापारमा चित्रकली

by समतल अनलाइन

बुटवल । प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गर्‍यो । उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन् । पदकले उनको गर्जाै टर्दैन । प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजाइन् ।

अल्लो सिस्नु प्रजातिको वनस्पति हो । जसबाट धागो बनाइन्छ । धागोबाट विभिन्न कपडा । चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन् । उनी अल्लोबाटै परिचित छिन् । ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुई चारवटा टोपी बिक्री भए त गर्जाे टर्छ ।’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ ।

चित्रकलीले पदक र प्रमाणपत्र सँगै राखेकी थिइन् । व्यापारमा उनका पतिले सघाइरहेका थिए । उनका उत्पादन किन्नेको चहलपहल थियो । चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट व्यवसाय थालेकी थिइन् । अहिले उनी वार्षिक करिब ५० लाख कारोबार गर्छिन् ।

गाउँमा खेर जाने सिस्नो उपयोग गरेर धागो कात्न थाल्दा उनले यसको व्यावसायिक महत्त्व बुझेकी थिइनन् । काम गर्दै गएपछि सामानको माग बढ्दै गयो । अल्लोको अन्तर्राष्ट्रिय बजार हुँदो रहेछ भन्ने उनले पछि मात्रै थाहा पाइन् । ‘अल्लो त महत्वपूर्ण रहेछ । सिस्नोले पैसा फलाएको छ’, उनले भनिन्, ‘पदक पनि त्यसैले दिलायो ।’ उनले परम्परागत रूपमै कपडा बुन्न थालेकी हुन् ।

अहिले अल्लोका पोसाकको माग बढेको छ । चित्रकली अल्लो चिनाउन मेला– महोत्सव समेत धाइन् । उनी अल्लोको कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला, पर्स बनाउँछिन् । चित्रकलीको कोठी हिमाल अल्लो उद्योगमा डेढ दर्जनले रोजगारी पाएका छन् । प्युठान मात्रै होइन, छिमेकी रोल्पा, रुकुम, बागलुङका महिलालाई समेत उनले अल्लोको सामान उत्पादनमा संलग्न गराइन् । तालिम दिइन् ।

अल्लोका उत्पादन स्वदेशमा मात्रै सीमित छैनन् । चित्रकली निर्यात प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् । उनका अनुसार नेपालमा उत्पादित अल्लोका उत्पादन साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुर निर्यात हुन्छन् ।

‘प्रदेशलाई समृद्ध बनाउने नारामा अल्लोको पनि योगदान हुन्छ’, उनले भनिन् । अल्लो कपडा उद्योग महासंघको नेतृत्वमा पुगेकी चित्रकली सरकारले सहुलियत कर्जा र बजारीकरणमा सहयोग गरे उत्पादन बढाउन सकिने बताउँछिन् । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like