साँझ परेपछि महानगरमै सार्वजनिक यातायात पाउन मुस्किल

by समतल अनलाइन

काठमाडौं । पाँच–सात जना यात्रु चढेका बस । सुरक्षाका लागि सिसि क्यामेरा र बसमै हतियारसहितका प्रहरी । राति ८ बजेपछि काठमाडौंलाई फन्को मार्न विभिन्न रुट भएर एकसाथ हुइँकिन्थे, १४ वटा बस । १ भदौ ०६९ को बेलुकी तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले न्युरोड गेटमा राति तीन घन्टा मात्रै चल्ने बसको रिबन काटेका थिए ।

ती बस चलाउन काठमाडौं महानगरपालिकाले ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । महानगरले खर्च व्यहोरेका कारण चालकले सडकमा यात्रु बोलाउनु पर्दैनथ्यो, न त चोकैपिच्छे रोकेर कराउनु पथ्र्यो । यात्रु नभेट्दा पनि एक फन्को मार्थे र फर्किन्थे । तर, डेढ वर्ष नबित्दै रात्रिबस सेवा बन्द भए । त्यसयता काठमाडौंमा सर्वसाधारणलाई साँझ परेपछि यात्रा गर्न सधैं सास्ती छ ।

‘महानगरीय सहर’ भए पनि यहाँ अहिलेसम्म राति पनि बजार जान, किनमेल गर्न र घुमफिर गर्न सकिने व्यवस्था सरकारले गर्न सकेको छैन । देशकै केन्द्रीय राजधानी, पहिलो र ठूलो महानगरपालिका भए पनि काठमाडौं आधा दिन मात्रै जागा रहन्छ । बिहान घाम झुल्केपछि उठ्ने काठमाडौं बेलुकी साँझ पर्ने्बित्तिकै सुत्छ । बेलुकी ८ बजे अधिकांश सपिङ मल, बजार र पसलहरू बन्द भइसक्छन् ।

बन्द नभए प्रहरी नै सटर तान्न पुग्छन् । ठूला उद्योगधन्दासमेत दिउँसो मात्रै खुल्छन् । बेलुकी ८ नबज्दै सार्वजनिक गाडी पातलिन्छन् । अस्पताल जानुपर्दा होस् वा कार्यालयबाट घर फर्किनुपर्दा, बेलुकी भएपछि ट्याक्सीको महँगो भाडा तिर्नुपर्ने बाध्यता छ ।

‘महानगरीय सहर’ भए पनि यहाँ अहिलेसम्म राति पनि बजार जान, किनमेल गर्न र घुमफिर गर्न सकिने व्यवस्था सरकारले गर्न सकेको छैन । महानगरपालिकाले चालू आवको नीति तथा कार्यक्रममा आर्थिक महत्वका निश्चित क्षेत्रहरूमा राति अबेरसम्म बजार खुला गर्ने व्यवस्था मिलाइने भनेको छ । तर, अहिलेसम्म त्यस्तो पहल सुरु भएको छैन ।

भाडा बढाउनुपर्ने व्यवसायीको घुर्की

दिउँसो होस् या राति सडकमा यात्रु हुने हो भने व्यवसायी आफैँ सवारी चलाउन तयार छन् । तर, सरकारले नै रात्रिबस चलाउने भनेपछि व्यवसायी सधैँ घुर्की लगाउँछन् । कहिले अनुदान पाउनुपर्ने त कहिले ट्याक्सीले जस्तै बढी भाडा लिन पाउनुपर्ने अडान लिन्छन् ।

सरकारले गत १ असारबाट रात्रिबस चलाउने निर्णय गरेको थियो । रात्रिबस सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चासो थियो । यातायात व्यवस्था विभागले उपत्यकाभित्र १८ रुटमा रात्रिबस सञ्चालन गर्न १२ कम्पनीलाई स्वीकृति दियो ।

न्यूनतम भाडा तोक्यो, २५ रुपैयाँ । तर, भाडादर कम भएको भन्दै साझाबाहेकका अन्यले सेवा दिएनन् । ‘पहिले पनि ६ महिनादेखि महानगरले अनुदान दिएन, हामीले घाटा खाएर सेवा दिन सकेनौँ,’ यातायात व्यवसायी संघ बागमतीका अध्यक्ष धर्मराज रिमाल भन्छन्, ‘८ बज्दासम्म सबै बन्द भइसक्छ, यात्रु नै हुँदैनन् ।’

उनले थोरै यात्रु बोक्दा नोक्सानी हुने भएकाले रातमा छुट्टै भाडादर तोकिदिए बस चलाउन सकिने बताए । साझा यातायातले भने विभिन्न तीन वटा रुटमा राति ११ बजेसम्म बस चलाउँदै आएको छ । साझाका कार्यकारी निर्देशक भूषण तुलाधर भन्छन्, ‘हामीसँग ७१ वटा बस छन्, रातिका लागि तीनवटा छन् । यात्रुको संख्या कम छ, यसमा त नाफा हैन, खर्च पनि उठ्दैन ।’ नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like