चीनबाट फर्किनेहरूसँग दूतावासको शर्तनामा : १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने

by समतल अनलाइन

काठमाडौं । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको शर्तनामा गराएको छ ।

शर्तनामा अनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ । दूतावासले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बुधबार सशर्तनामा गराइएको हो ।

क्वारेन्टाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहाँ गरिएको खाने, बस्ने, संक्रमणको रोकथाम र उपचारको व्यवस्थापनबारे शर्तनामामा उल्लेख छ । सरकारले चीनबाट ल्याइने नेपाली राख्न क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ । ६० कोठाको क्वारेन्टाइनमा १८६ बेड राखिएका छन् ।

प्रत्येक बेड एक मिटरको ‘ग्याप’ मा राखिएको छ । ६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ दुई सय ५० जनासम्म अटाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेका लागि खाने व्यवस्था सेनाले गर्नेछ ।

अभिभावकले दुई हप्ता क्वारेन्टाइनमा रहँदा परिवारसँग सम्पर्क गर्न सिमका साथै इन्टरनेटको व्यवस्था गर्न माग गरेका छन् । सरकारले भने पहिलो दायित्व नेपाल ल्याउनु भएको भन्दै इन्टरनेट सुविधा दिनेबारे तत्काल कुनै योजना नबनाएको बताएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like