बालबालिकालाई यातना दिने बालगृहका सञ्चालक पक्राउ, सात बालबालिकाको उद्धार

by समतल अनलाइन

काठमाडौं । ललितपुरमा सञ्चालन हुँदै आएको एक बालगृहका सञ्चालक पक्राउ परेका छन् । ललितपुरको भैंसेपाटीस्थित श्री पुनस्र्थापना पवित्र चिल्ड्रेन होमका सञ्चालक आकाश खाती र कमला खाती पक्राउ परेका हुन् ।

बालगृहमा कुटपिट र यातना भएपछि भागेका बालबालिकालाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीले उद्धार समेत गरेको छ । महानगरी प्रहरी प्रभाग ललितपुरबाट खटिएको प्रहरी टोलीले बालगृहमा हुने यातना सहन नसकि संस्था छोडेर हिँडेका बालबालिकाको बयानका आधारमा सञ्चालकहरुलाई पक्राउ गरेको हो ।

संस्था छोडेर हिंडेका बालबालिकाहरुले प्रहरीलाई संस्थामा बालबालिकामाथि कुटपिट गरिने, यातना दिने र बालमैत्री वातावरण नभएकोले संस्था छोडेको बताएका थिए । बालगृहबाट भागेका सात जना बालबालिकालाई महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले फेला पारी बालबालिका खोजतलास समन्यव केन्द्रमा ल्याइएको छ ।

सुर्खेतका ११ वर्षीया आशा नेपाली र १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक र ९ वर्षीया योना विक तथा हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटा रहेको समन्वय केन्द्रले जनाएको छ ।

बालबालिकाहरुलाई सडकमा वेवारिसे अवस्थामा भेट्टाएकाले सोधपुछ गरी सञ्चालकलाई पक्राउ गरिएको समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहन वदाहालले जानकारी दिएका छन् ।

सुर्खेतको खजुरा घर बताउने ११ वर्षकी आशा नेपालीले आफूलाई दाङका एक चर्चका पास्टरले बालगृह सञ्चालक कमला खातीसँग काठमाडौँ पठाएको बताइन् । आशाका अनुसार पढाइदिने र टेबलमा बसेर खान दिइने भनी बालगृहमा ल्याइएको थियो ।

बालगृहमा ल्याएपछि विद्यालय नपठाई घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने काममा लगाइएको बालबालिकाले बताएका छन् । दुई वर्षदेखि त्यस बालगृहमा बस्दै आएकी ९ वर्षीया योना विकका अनुसार बालगृह सञ्चालकले बालबालिकालाई शारीरिक यातना समेत दिने गरेका थिए ।

 
 
  
 

You may also like