चीनको हुपेबाट १८० विद्यार्थी फर्कंदै

by समतल अनलाइन

काठमाडौं । चीनको हुपे प्रान्तमा रहेका १८० नेपाली विद्यार्थी स्वदेश फर्किने भएका छन् । उनीहरूले आइतबार साँझसम्म ‘नेपाल जान पाऊँ’ भनेर आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने फारम भरेका छैनन् । उहान भ्रमणमा आएका नेपाली समेत फर्किन लागेको उपप्रमुख लम्सालले सुनाए । उद्धारपछि नेपालमा राख्न उपयुक्त ठाउँको खोजी भइरहेको जानकारी पाएको दूतावासले जनाएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित उहान सहरबाट ५९, चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरबाट क्रमशः ५०, ९, २९, २८ र ५ जनाले नेपाल फर्किनका लागि आवेदन दिएका छन् । ‘बाँकी नेपालीलाई एकपटक सोधिनेछ । त्यसपछि अन्तिम सूची तयार हुनेछ’, उनले भने, ‘चिनियाँ पक्षसँग पनि अनुमानित नेपाली र ल्याइने हवाईजहाजलगायतबारे छलफल भएको छ । अन्तिम स्वीकृतिको प्रतीक्षामा छौं । हामी जतिसक्दो छिटो पठाउने तयारीमा छौं ।’

नेपाल सरकारले उद्धार गर्ने निर्णय गरेको भन्दै त्यसका लागि आवेदन दिन वेबसाइटमार्फत सूचना जारी गरिएको थियो । जसअनुसार हुपेमा रहेका नेपालीले दूतावासको वेबसाइटमा उपलब्ध फारम भर्नुपर्ने जनाइएको थियो ।

उनीहरू फर्किनुअघि चिनियाँ विमानस्थलमा सबैको स्वास्थ्य परीक्षण गरिनेछ । परीक्षणपछि स्वास्थ्य स्थिति सबल भए नेपाल फर्काइने छ । कसैमा शंका लागे चीनमै राखेर केही समयपछि मात्र फर्काइने छ । संक्रमितलाई चीनमै उपचार गर्नुपर्नेछ ।

हुपे प्रान्तका उहानसहित विभिन्न सहरमा रहेका नेपाली संक्रमित नरहेको जनाइएको छ । बिदामा गएर नेपालबाहिर वा चीनकै अन्य सहरमा रहेकालाई पनि हुपेमै विश्वविद्यालयले फिर्ता बोलाएर परीक्षण गर्ने भएको छ । चीनले हुपे प्रान्तका अन्य आफ्ना विद्यार्थीलाई पनि फर्काएर उनीहरूको परीक्षण थालेको छ ।

चीनमा कोरोना संक्रमण बढेपछि नेपाली विद्यार्थी अन्योलमा परेका थिए । समस्या निराकरण कहिलेसम्म हुने थाहा नभएपछि उनीहरूले फर्किन माग गरेका थिए । सरकारको चाहना बिना फर्किन सक्ने अवस्था भने थिएन ।

अन्य मुलुकका विद्यार्थी फर्केपछि उनीहरूले नेपाल सरकारसँग फर्काउन पहल गरिरहेका थिए । चीनले स्वदेशी र विदेशी नभनी समान रूपले उपचार गरेको र परीक्षण पनि गर्दै सतर्कतामा जोड दिएको थियो ।

सुरक्षामा कमी नभए पनि कहिलेसम्म यसरी रहने भन्दै आफ्नै मुलुक फर्किन उनीहरूले खोजेको बताएका थिए । उनीहरूलाई उहान ल्याएर त्यहाँबाट चार्टर्ड फ्लाइटमा नेपाल ल्याउने तयारी छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीले चासो दिएर छिटो गर्न विभिन्न निकायलाई निर्देशन दिएका थिए । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like