हेलो प्रहरी ! म बिहे गर्दिनँ

by समतल अनलाइन

स्याङ्जा। १४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन् । गृहकार्य सकिन् । रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे । त्यहाँ विशेष चहलपहल थियो ।

उनलाई मनमनै जिज्ञासा उठ्योे, किन यति धेरै मानिस भेला भएका ? मलाई किन यहाँ ल्याइयो ? केहीबेरमा थाहा पाइन्– त्यहाँ उनको बिहे हुँदैछ । न उमेर पुगेको थियो न त उनलाई बिहे गर्न मन थियो । उनी उम्कन सक्ने अवस्थामा थिइनन् ।

बिलखबन्दमा परिन् केहीबेर । कक्षा ९ मा सँगै पढ्ने साथीसँग सहयोग लिइन् । प्रहरीलाई १०० नम्बरमा फोन गरेर आफैंले पनि खबर गरिन् । प्रहरी टोली तत्काल बिहे हुन लागेको घरमा पुग्यो । उनको बिहे रोकियो । झुक्याएर बिहे गराउन खोज्ने आफन्तलाई प्रहरी नियन्त्रणमा लियो ।

स्याङ्जाको हरिनास गाउँपालिका–६ की किशोरीले भोगेको घटना हो यो । सानैमा आमाको निधन भएपछि बुवाले अर्की ल्याए । उनी हजुरआमासँग बस्दै आएकी थिइन् । हजुरआमालाई फस्ल्याङफुस्लुङ पारेर आफन्तले सोही गाउँका २७ वर्षीय सन्तबहादुरसँग उनको बिहे गरिदिन लागेका थिए ।

सन्तबहादुरले ती किशोरीलाई पुस ४ गते आफ्नै घरमा ल्याएर विवाह गर्ने तयारी गरेका थिए । उनी रोजगारीका लागि केही वर्षयता भारतमा बस्दै आएका छन् । सन्तबहादुर र बेलबहादुर राना प्रहरी नियन्त्रणमा छन् । सुना राना र बेलबहादुर रानाले बिहे गराउन सघाएको भन्दै ती किशोरीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू पनि पक्राउ परेको डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।

प्रहरीले उनीहरूविरुद्ध बालविवाहसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ मा बालविवाह गर्न नहुने उल्लेख छ । उपदफा १ मा २० वर्ष उमेर नपुगेका व्यक्तिसँग विवाह गर्न वा गराउन हुँदैन ।

यस विपरीत भएको विवाह स्वतः बदर हुने संहितामा उल्लेख छ । यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना तोकिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like