डेढ महिनाको शिशुलाई एकै पटक चार खोप लगाएपछि मृत्यु

by समतल अनलाइन

इलाम । इलामको माङसेबुङमा एकै पटक चार वटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चार वटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

उनलाई एकै पटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकै पटक चार वटै खोप लगाइएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like