बुटवल–८ मा क्यानन फुटबल प्रतियोगिता : २६ संस्थागत र ४ सामुदायिक विद्यालयको सहभागिता

by समतल अनलाइन
48Shares

बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयले दोस्रो ‘क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । फुटबललाई ब्रान्डको रूपमा स्थापित गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता सुरु हुनेछ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालयले ‘संगै हामी सक्छौँ’ भन्ने नारासहित प्रतियोगिता गर्न लागिएको जानकारी दियो । प्रतियोगितामा २७ विद्यालयका ३० टिम सहभागी हुने प्राचार्य शंकर भण्डारीले बताए । पहिलो संस्करण सफल भएपछि यस वर्ष प्रतियोगिता झनै सुदृढ र व्यवस्थित बनाइएको विद्यालयले जनाएको छ ।

विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपानेका अनुसार खेलकुदको विकास, विद्यार्थीको क्षमता अभिवृद्धि र फुटबलप्रतिको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयले फुटबल, चित्रकला, नृत्यलगायत कुनै पनि अतिरिक्त क्रियाकलापमा शुल्क नलिने बताइएको छ ।

प्रतियोगितामा २६ संस्थागत र ४ सामुदायिक विद्यालय सहभागी हुनेछन् । मंसिर १९ गतेसम्म सञ्चालन हुने खेल सिद्देश्वरी माविको खेल मैदानमा हुनेछ ।

विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडी, गोलरक्षक र गोल स्कोररले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले ५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक पवन बस्यालले बताए ।
गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुल र नविन कदरबहादुर रीता मावि रहेका थिए । प्रतियोगिता सम्पन्न गर्न झन्डै ५ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने विद्यालयले जनाएको छ ।

विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको छ भने चाँडै कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई चाइनिज भाषा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्राचार्य भण्डारी, सहप्राचार्य न्यौपाने, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल र खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारीले प्रतियोगिताको टाइसीट सार्वजनिक गरेका थिए ।

You may also like