बुटवल नयाँ खानेपानी समितिको स्पष्टोक्ति: साधारणसभा कानुनसम्मत, अनियमितताको आरोप प्रमाणसहित चुनौती

by समतल अनलाइन
57Shares

बुटवल । बुटवलको नयाँ खानेपानी उपभोक्ता समितिले आफ्नो १६औँ साधारणसभा कानुनबमोजिम सम्पन्न भएको दाबी गरेको छ। केही परिषद् सदस्यहरूले बाहिर आरोप लगाएजस्तो संस्थामा कुनै अनियमितता नरहेको समितिले स्पष्ट पारेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष मिना जिसीले तीन वर्षदेखि रोकिएको साधारणसभा आफू नेतृत्वमा आएपछि नौ महिनाभित्र सम्पन्न गर्न सफल भएको बताइन्। साधारणसभा गैरकानुनी र अनियमितता भएको भन्दै बाहिर चलेका आवाजहरू आधारहीन भएको उनको भनाइ छ।

“हाम्रो कार्यसमितिले नौ महिनामै साधारणसभा गर्‍यो। ३ वर्षदेखि रोकिएको सभा सम्पन्न गर्दा धन्यवाद दिनुपर्नेमा उल्टै आरोप लगाइनु खेदजनक छ,” अध्यक्ष जिसीले भनिन्।

उनका अनुसार आफूहरुले पानीको शुल्कसमेत घटाएर उपभोक्तालाई राहत प्रदान गरेका छन्। पहिले १२ हजार लिटर पानीको शुल्क १०० रुपैयाँ रहेकामा हाल ८० रुपैयाँ मात्र तोकिएको उनको भनाइ थियो।

अध्यक्ष जिसीले असन्तुष्टि भएको भए आधिकारिक बैठक वा साधारणसभामै प्रस्तुत गर्न सकिने भन्दै परिषद् सदस्यहरूलाई संस्थाभित्रै आएर सुझाव दिन आग्रह गरिन्। “संस्थाको दिर्घकालीन हितका लागि राम्रो सुझाव आएमा कार्यान्वयन गर्न तयार छौँ,” उनले भनिन्।

खानेपानी संस्थाका कानुनी सल्लाहाकार लेखनाथ ढकालले २६ जना परिषद् सदस्यहरूको मागअनुसार ‘उपभोक्तासहितको साधारणसभा’ सम्भव नहुने बताए। ४,८०० उपभोक्ता रहेको संस्थामा बहुमत उपस्थिति सुनिश्चित गर्न नसकिने भएकाले यस्तो सभा कानुनले पनि नचिन्ने उनले स्पष्ट पारे। कानुनमा ५०० भन्दा बढी उपभोक्ता भएका संस्थाको साधारणसभा परिषद् सदस्यद्वारा गरिने प्रावधान रहेको उनको भनाइ थियो।

यस्तै, बँदेल पोखरी टंकी मर्मत उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भुसालले निर्माणकार्यमा कुनै आर्थिक अनियमितता नभएको स्पष्ट पारे। मजदुर अभावका कारण केही समय रोकावट आए पनि अहिले मर्मत कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको उनले बताए।

वडाध्यक्ष डिल्लिप्रसाद शर्माले कार्यसमितिमा उजुरी पर्नु सामान्य प्रक्रिया भएको बताउँदै खानेपानी उपभोक्ता समितिले कानुनअनुसार काम गर्न हिच्किचाउन नपर्ने धारणा राखे।

गत कात्तिक २६ गते सम्पन्न साधारणसभामा गिरिप्रसाद मरासिनी, बामदेव भुसाल, प्रेम आचार्यलगायत २६ जना परिषद् सदस्यहरूले आर्थिक अनियमितताको आरोप लगाउँदै सभा बहिष्कार गरेका थिए। उनीहरूले उपभोक्तासहितको साधारणसभा माग गरेका थिए।

You may also like