काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य

by समतल अनलाइन
43Shares

काठमाडौँ।ओपनर जोन सिम्पसनको अर्धशतक प्रेरित काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो ।

सिम्पसनले २९ बलमा तीन चौका र पाँच छक्कासहित ६० रनको आक्रामक इनिङ खेले । २४–३ को अवस्थामा उनले मिलिन्द कुमारसँग चौथो विकेटका लागि ९८ रनको साझेदारी गर्दै पारी सम्हाले ।

तर १५.६ ओभरमा मिलिन्द आउट भएपछि र अर्को ओभरमै सिम्पसन पनि फर्किएपछि काठमाडौँ ठूलो योगफल बनाउन सकेन । १२२–४ बाट ११ रन मात्र थप्दा काठमाडौँले मध्य र तल्लो क्रमका पाँच विकेट गुमायो ।

मिलिन्दले ३८ रन जोडे। ओपनर बेन चाल्सवर्थले १३ रन बनाए । अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। सन्तोष यादव र गेरहार्ड इरास्मस डक भए। आकाश त्रिपाठी चार रन र राशिद खान ६ रनमा आउट भए।

काठमाडौँलाई मध्यम योगफलमा रोक्न चितवनका सोहेल तान्विरले चार विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चे। रञ्जित कुमार र कमलसिंह ऐरीले दुई/दुई विकेट लिए भने रवि बोपाराले एक विकेट लिए।

You may also like