बुटवल कृषि उपज थोक बजार ठप्प, टेन्डर प्रक्रियाविरुद्ध व्यवसायीको आन्दोलन

by समतल अनलाइन
88Shares

बुटवल । बुटवल कृषि उपभोक्‍ता बजारका व्यवसायीहरु आइतबारदेखि आन्दोलनमा उत्रिएपछि बजार केन्द्र ठप्प भएको छ। व्यवस्थापन समितिले टेन्डर प्रक्रिया अघि बढाएपछि व्यवसायीहरुले विरोध जनाउँदै बजार बन्द गराएका हुन्।

म्याद सकिन लागेको वर्तमान व्यवस्थापन समितिले नयाँ सटर टेन्डर प्रक्रिया सुरु गरेको भन्दै व्यवसायीहरुले पुनरावेदनको अधिकार सुनिश्चित गर्नुपर्ने, विगतको त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्नुपर्ने, अदालतको पूर्ण निर्णय सार्वजनिक गरिनुपर्ने, वार्षिक निर्वाचनको घोषणा गर्नुपर्ने र व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राखेर मूल गेटमा धर्ना दिएका छन्।

व्यवसायीहरुले आफूहरु विगतदेखि नै हरेक वर्ष १० प्रतिशतले भाडा वृद्धि गर्दै आएको तर व्यवस्थापन समितिले पुनः टेन्डर खोल्न खोज्नु अन्याय भएको आरोप लगाएका छन्। “हामीले उपभोक्ता र किसानलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गरिरहेका हौँ। व्यक्तिगत स्वार्थका लागि होइन, न्यायको लागि संघर्ष हो,” व्यवसायीहरूले भने।

रुपन्देही जिल्ला अदालतले सटरहरु नियमित टेन्डरमार्फत भाडामा लगाउनुपर्ने आदेश दिएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। अदालतले पछिल्लो सोधपुछपछि मुद्दा खारेज गरेपछि समितिले टेन्डर खोल्ने तयारी गरेको बताइएको छ।

विक्रम संवत् २०१८ भदौ २४ गते बजारका ६८ वटा सटर भाडामा दिने सूचना जारी गरिएको थियो। त्यसका लागि २६७ वटा बोलपत्र दर्ता भएका छन् र बैंक ग्यारेन्टी समेत राखिएको छ।

व्यवसायीहरूले किसानका लागि छुट्याइएका १० प्रतिशत सटर वास्तविक किसानलाई उपलब्ध गराउनुपर्ने माग पनि राखेका छन्। “किसानका नाममा राखिएका सटर व्यवसायिक व्यक्तिको कब्जामा हुनु हुँदैन,” व्यवसायीहरूले भने।

साढे १५ वर्षअघि लागत साझेदारीमा बनेको यो बजारमा कृषि मन्त्रालयको ६०%, बुटवल उपमहानगरपालिकाको २४% र लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको १६% लगानी रहेको छ। व्यवसायीहरूका अनुसार २०६७ मा गरिएको १० वर्षको सम्झौता २०७७ मा सकिएपछि कोभिड र प्रशासनिक कारणले नयाँ प्रक्रिया अघि बढ्न नसकिरहेको थियो।

आन्दोलनका कारण बजारका कारोबार ठप्प हुँदा किसान र उपभोक्ता दुबै प्रभावित भएका छन्। अहिले दुवै पक्षले समाधानका लागि छलफल जारी रहेको बताइएको छ।

You may also like