काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशव्यापी मतदाता नामावली संकलन जारी छ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक सहभागितासँगै मतदाता नामावली दर्ता अगाडि बढिरहेको छ। यस अभियान यही कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सो निर्वाचनमा मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पुगेका मतदाताले मात्र मतदान गर्न सक्नेछन् ।
आयोगले सबै नेपाली नागरिकलाई सो मितिसम्म अठार वर्ष उमेर पूरा गरी नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरेको छ। यद्यपि, दर्तामा अत्यधिक सहभागिताका कारण सर्भरमा चाप बढेर सेवाग्राहीलाई सेवा लिन केही असुविधा भएको गुनासो आएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात् पनि विगतको नियमअनुसार १६ वर्ष उमेर पूरा गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउनेछन् ।




