भैरहवा। भैरहवा भन्सार कार्यालय, बेलहियाले चालु आर्थिक वर्ष २०८२/०८३ का पहिलो तीन महिनामा (साउनदेखि असोज) २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले यस अवधिमा २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। लक्ष्यअनुसार ९७ दशमलव १५ प्रतिशत राजस्व संकलन भएको भन्सारका सूचना अधिकारी सन्तोष कुमार न्यौपानेले जानकारी दिए।
उनका अनुसार साउन महिनामा ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार लक्ष्यमा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार संकलन गरियो। जुन लक्ष्यको १०२ दशमलव ०५ प्रतिशत हो।
भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार लक्ष्यका विरुद्ध ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार रुपैयाँ संकलन भयो। लक्ष्यको ९७ दशमलव २५ प्रतिशत हो।
त्यस्तै, असोजमा १० अर्ब १ करोड ७४ लाख १ हजार लक्ष्यका विरुद्ध ९ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ संकलन गरियो, जुन लक्ष्यको ९२ दशमलव ७१ प्रतिशत बराबर हो।
गत वर्षको तुलनामा वृद्धि
गत आर्थिक वर्षको यसै अवधि (साउन–असोज) मा कार्यालयले २७ अर्ब ४६ करोड ८३ लाख ४२ हजार राजस्व लक्ष्यका विरुद्ध २५ अर्ब ७ करोड ४९ लाख ९ हजार संकलन गरी ९१ दशमलव २८ प्रतिशत मात्र हासिल गरेको थियो। यो वर्षको प्रगति गत वर्षभन्दा राम्रो देखिन्छ।
लक्ष्य र महत्व
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा कार्यालयलाई जम्मा १ खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य दिइएको छ।
उनले भैरहवा भन्सार नेपालको ‘लाइफलाइन’ का रूपमा रहेको उल्लेख गर्दै स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक र व्यापारिक सामान यो नाकाबाट भित्रिने जानकारी दिए।
जेन–जी आन्दोलनको असर भए पनि सेवा निरन्तर
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भैरहवा भन्सार कार्यालयमा भएको आगजनी र तोडफोडबाट भौतिक संरचनामा क्षति पुगेको थियो। तर भौतिक क्षति बीच पनि कार्यालयले केही दिनमै परिसरमा टेण्ट टाँगेर सेवा सञ्चालन गरेको थियो।
देशको प्रमुख व्यापारिक नाका मानिने बेलहिया नाकाबाट दैनिक ठूलो मात्रामा मालसामान आयात–निर्यात हुने गर्छ।




