पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

by समतल अनलाइन
94Shares

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौँले मंगलबार र बुधबार भएको थुनछेक बहसपछि महरालाई थुनामा पठाउने आदेश दिएको हो।

अदालतको आदेशपछि उनलाई काठमाडौँको सुन्धारास्थित जगन्नाथदेवल कारागारमा पठाइएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।

प्रहरी अनुसन्धान अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको एफजेट ०५८७ उडानबाट काठमाडौँ आएका चिनियाँ नागरिक **लि हानसोङ** को सुटकेसमा राखिएको भेपलाई भन्सारले नियन्त्रणमा लिएको थियो। पछि सो भेपमा सुन लुकाइएको खुलेपछि सीआईबीले थप अनुसन्धान सुरु गरेको थियो।

लामो अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करीमा संलग्नता देखाउँदै भन्सारका कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा दायर गर्‍यो। सोही घटनामा महराको नाम पनि जोडिएपछि प्रहरी अनुसन्धान थप गहिरो बनाइएको थियो।

महरासँगै उनका छोरा राहुल महरा, दावा छिरिङ, नीमा गुरुङ, र लोकेन्द्र पौडेल पनि सो प्रकरणमा मतियारका रूपमा जोडिएका छन्।

प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा महराविरुद्ध **८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ** बराबरको बिगो र **३ वर्षभन्दा बढी कैद सजाय** माग दाबी गरिएको छ।

You may also like